सप्तरी – राष्ट्रिय परीक्षा बोर्डले फरक मोडालिटीमा कक्षा १२ को अन्तिम परीक्षा लिने गृहकार्य थालेको छ । भदौ महिनासम्ममा गत वर्षभन्दा फरक मोडालिटीमा परीक्षा लिने गृहकार्य थालेको हो । अझैं कोभिड–१९ को संक्रमण नियन्त्रणमा नभएका कारण केही समयसम्म स्थिति हेरेर मात्रै निर्णय लिइने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारी बारेमा छलफल थालिने बताए । उनले भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र गत वर्षभन्दा फरक मोडालिटीमा परीक्षा हुने बताए ।कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ । कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको छ ।
विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि बाटोसमेत खुल्ने भएकाले कक्षा १२ मा परीक्षा लिनैपर्ने अवस्था रहेको जनाइएको छ । बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो ।