काठमाडौं – लुम्बिनी प्रदेशका चार सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सोमबार दोस्रो सुनुवाइ हुँदैछ। जनता समाजवादी पार्टीका चार सांसदले दायर गरेको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो।
न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासले उनीहरुको मुद्दा सुनुवाइ गर्ने छ। पेशी सूचीको दोस्रो नम्बरमा उनीहरुको मुद्दा तोकिएको छ। सर्वोच्च अदालतले असार २ गते निलम्बित सांसदहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो।मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन उनीहरुले मन्त्रीको पनि शपथ लिएपछि जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो। जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार संसदीय दलको पत्रका आधारमा प्रदेश सभाले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निस्कासन गरेको थियो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको साढे तीन घण्टामै वैशाख ६ गते तीनजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उनीहरुमध्ये एकजनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्।पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्रालय, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रालय र रायमाझीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए। पार्टी नीति र निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेको भन्दै जसपाको लुम्बिनी प्रदेश संसदीय दलले वैशाख ७ गते कारबाही प्रक्रिया अघि बढाएको थियो। जसपा संसदीय दलका नेता सहसराम यादवले चारैजना सांसदलाई छुट्टाछुट्टै रुपमा २४ घण्टे स्पष्टीकरण सोधेका थिए।
स्पष्टीकरण लगत्तै हटाएको भएपनि सर्वोच्चले उनीहरुको कुरा भन्ने मौका नदिएको भन्दै पुर्नबहाली गरेको थियो। अब दोस्रो सुनुवाइले उनीहरुको पुर्नबहालीबारे अन्तरिम आदेशलाई निरन्तर राख्ने कि खारेज गर्ने निर्णय गर्ने छ। सर्वोच्चले खारेज गरेमा उनीहरुको सांसद पद जाने छ।