तुलसीपुर मेट्रो अस्पतालले तेस्रो भेरियन्टका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोभिडलाई निरन्तरता दिँदै बालबालिकामा देखिन सक्ने अनुमान गरिएको तेस्रो भेरियन्टको महामारीबाट बच्न अपनाउनुपर्ने सबै उपायहरु अबलम्बन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि थप भौतिक संरचना, निर्माण, व्यवस्थापनका लागि स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, फर्निचर खरिद तथा सहयोगका लागि दाताहरुसँग पनि पहल गर्ने निर्णय गरेको छ ।त्यसैगरी बैठकले अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा.प्रकाश साहुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा, प्रमुख प्रशासकीय अधिकृत भास्कर गौतम, स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, डा. ज्ञानेन्द्र पाण्डे लगायतले कोरोना महामारीमा गरेको कामको समीक्षा गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य निरीक्षक विमला केसीले गरेकी थिइन् ।