सप्तरी – वैदेशिक रोजगार विभागले आज मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीमा छापा पारेको छ।
विभागबाट स्वीकृति नलिई कतार प्रहरीमा जागिर लगाइदिने भन्दै उक्त कम्पनीले विभिन्न व्यक्तिहरुको परीक्षा लिइरहेको सूचना पाएपछि विभागले छापा मारेको हो। विभागका अधिकृत कुशल बरालको नेतृत्वमा गएको टोलीले कम्पनीमा कूटनीतिक गाडीसहित केही सञ्चालक तथा अन्तर्वार्ता दिन आएका व्यक्तिहरुलाई पनि पक्राउ गरेको छ । गाडी कसले प्रयोग गरको हो भन्ने खुलेको छैना।
कम्पनीको दर्ता नम्बर ८५७ ०६६–०६७ हो। कम्पनीबाट विभागको टोलीले १६ वटा अन्तर्वार्ताका लागि आएका फाइल पनि बरामद गरेको छ। कोरोना संक्रमणको समयमा पनि कतार प्रहरीमा जानका लागि करिब ४ सय जनाको हाराहारीमा अन्तर्वार्ता दिनका लागि विभिन्न स्थानबाट मानिसहरु भेला भएको विभागले जनाएको छ। विभागका निर्देशक टिकामणि नेउपानेका अनुसार केही समय अघिदेखि विभागको स्वीकृति नलिई विदेश लैजाने भन्दै विभिन्न म्यानपावर कम्पनीले अन्तर्वार्ता लिइरहेको सूचना आएको थियो। त्यसपछि विभागले छापा मार्नका लागि टोली पठाएको हो। नेउपानेका अनुसार विभागले हिजो सोमबार पनि एसओएस म्यानपावर र डीडी ह्युम्यान रिसोर्स कम्पनीमा छापा मारेको थियो। ती कम्पनीबाट पनि केही कागजात र सञ्चालक पक्राउ परेका छन्।
ती कम्पनीहरुले सोसल मिडिया र विभिन्न दलालमार्फत मानिसहरुबाट ८ लाख रुपैयाँसम्म असुल गरी अन्तवार्ता लिइरहेको र सो काम कानुनविपरीत भएकोले विभागले छापा मारेको निर्देशक नेउपानेले नेपाल समयलाई जानकारी दिए।