काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा फेरि आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।अमेरिकी कमान्डरहरूले बाइडनलाई अफगानिस्तान एयरपोर्टमा आइतबार आक्रमण गर्न सकिने बताएको बिबिसीले उल्लेख गरेको छ ।
आक्रमण हुनसक्ने सूचना आएकोले अमेरिकी नागरिकलाई विमानस्थल क्षेत्रबाट टाढा रहन अमेरिकी विदेश मन्त्रालयले आग्रह गरेको छ ।अमेरिकाले अझै पनि अफगानिस्तानबाट मानिसहरूलाई उद्धार गर्ने कार्य गरिरहेको छ । यता बेलायतले भने आफ्ना सेना, कुटनीतिज्ञ र अधिकारीलाई निकालेको छ ।काबुल विमानस्थल नजिकै बिहीबार आत्मघाती आक्रमण हुँदा कम्तीमा १ सय ७० जनाको मृत्यु भएको थियो ।यस आक्रमणको जिम्मेवारी इस्लामी राज्यको स्थानीय शाखा, इस्लामी राज्य खुरासनले लिएको थियो ।
काबुल विमानस्थलमा भएको आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार पश्चिमी अफगानिस्तानमा ड्रोन आक्रमण गरेको थियो । जसमा दुई जना आइएस–के सदस्यको मृत्यु जनाइएको छ ।अमेरिकाका अनुसार यी दुई व्यक्ति काबुल विमानस्थलमा भएको आक्रमणको मास्टरमाइन्ड थिए ।बाइडेनले भनेका छन्, ‘यो अन्तिम प्रतिकार थिएन । काबुल विमानस्थलमा आक्रमण गर्नेहरूलाई मुक्त गरिने छैन । तिनीहरूले त्यसको मूल्य चुकाउनुपर्छ ।’भनिन्छ, आइएस–के अफगानिस्तानको सबैभन्दा हिंस्रक अतिवादी संगठन हो र तालिबानसँग यसको ठूलो मतभेद छ ।अफगानिस्तानको सम्पूर्ण शक्ति र सत्ता अहिले तालिबानको हातमा छ । तालिबानले अमेरिकी हवाई हमलाको निन्दा गरेका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार, आक्रमण गर्नुअघि अमेरिकाले आफूहरुलाई जानकारी दिनुपर्ने तालिवानको भनाइ छ ।अमेरिकी सेना पनि काबुल विमानस्थलबाट निस्कन थालेका छन् । काबुल विमानस्थलमा अहिले ४ हजारभन्दा कम सैनिक छन्, जबकी गत हप्ता ५ हजार ८ सयभन्दा बढी संख्यामा उनीहरु थिए ।ह्वाइट हाउसका अधिकारीहरूले अबका केही दिन निकै खतरनाक हुनसक्ने बताएका छन् ।
अफगानीहरूलाई विमानस्थलमा जानबाट रोक्न तालिबानले विमानस्थल वरिपरि विभिन्न जाँचचौकीहरू स्थापना गरेका छन् । गत दुई हप्तामा काबुलबाट १ लाख १० हजार अफगानी र विदेशी नागरिकलाई काबुलबाट उद्धार गरिएको छ ।