काठमाडौं – अल्पमतमा परिसकेकी वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मुख्यमन्त्री शाक्यले आजै १० जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेकी हुन् ।
नेकपा (एमाले) विभाजनमा माधवकमाुर नेपालको साथ छाडेकालाई शाक्यले केही दिनका लागि भए पनि मन्त्री बनाउन लागेकी हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको शपथग्रहण दिउँसो २ बजेका लागि तय गरिएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डे मात्र छन् । एमाले प्रमख सचेतक दीपक निरौलाका अनुसार मुख्यमन्त्री शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद् ‘फेस’ गर्ने तयारी गरेकी छन् ।
शाक्यको मन्त्रिपरिषद्मा जानेहरूमा अजय क्रान्ति, चन्द्र लामा, रचना खड्का, शान्तिप्रसाद पौडेल, प्रदीप कटुवाल, विजय सुवेदी, सरस्वती बाटी, बद्री मैनाली, जुनेली श्रेष्ठ र जीवन खड्का छन् । आज थपिने १० मध्ये मैनाली, बाटी, श्रेष्ठ र खड्का राज्यमन्त्री हुनेछन् ।