बुटवल – नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले फुट नभइ एमालेले काँचुली फेरेको जिकिर गरेका छन् । सर्पको काँचुली निस्किदैमा नमर्ने भन्दै उनले एमालेबाट पनि केही काँचुली मात्रै निस्किएको बताए ।
बुटवलमा बुधबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले एमाले टुक्रयाउन खोज्नेहरु असफल भएको बताए । ‘लुम्बिनी प्रदेशमा हेरे पुग्छ एमाले फुटेको हो कि हैन भन्ने, उनले भने,’ एकाध साथीहरु बहकिनुभएको छ, उहाँहरु फर्किनुहुन्छ ।’ एमालेबाट निस्किएका केही व्यक्तिबाट बनेको कथित नेकपा एकीकृत समाजवादीले एक्लै चुनाव लडेर जमानत जोगाउन समेत नसक्ने दावी गरे । उनले माधव नेपालको आलोचना गरे । पार्टीभित्र कुन्ठा र स्वार्थका निम्ति अध्यक्षमाथि प्रहार गरिएको बताउँदै एमाले फेरी ठूलो शक्ति बन्ने बताए । पार्टीको नेताका विरुद्ध अनाधिकृतरुपमा हस्ताक्षर गर्ने इतिहासमै नभएको लज्जाजनक काम भएको उनले बताए ।
उनले नेकपा एकीकृत समाजवादी पार्टी खोलेर इतिहासमै लाजमर्दो काम भइरहेको बताए । ‘कम्युनिस्टको सरकार गिराएर दक्षिणपन्थी शक्तिलाई गोलबन्ध गरेर सरकार बनेको छ,’ उनले भने,‘वामपन्थका लागि यो गरिएको काम भनेर भद्धा मज्जाक भइरहेको छ ।’
उनले माधव नेपालले पार्टीभित्र अराजकता र अनाधिकृत काम गरेको बताए । पौडैलले सरकारले अध्यादेश ल्याएर एमाले विभाजन गरेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाट पारित गर्न चुनौती दिए ।
पौडेलले लुम्बिनीमा नेकपा एमाले विभाजनको कुनै छिटा नपरेको दावी गरे छन् । उनले भने, ‘विग्रहको अपेक्षा नगरेपनि हुन्छ, लुम्बिनीको बैठकले त्यो सन्देश दिएको छ ।’ लुम्बिनीमा विभाजनको कुनै पनि प्रयास सफल हुन नदिने बताए । अहिले आफूहरु प्रतिपक्षी भूमिकामा भएपनि आगामी निर्वाचनमार्फत पुन: सरकारमा जाने गरी पार्टी गतिविधि गर्ने उनले बताए ।आगामी ३० गते १२ वटै जिल्ला भेला आयोजना गर्ने, असोज मसान्तसम्म पार्टी नविकरण गर्ने, ९ सय ८३ वडाहरुमा कार्तिक ६ गते वडा अधिवेशन गर्ने, त्यसपछि पालिका स्तरको अधिवेशन गर्ने उपमहासचिव पौडेलले बताए ।
१० बुँदे सम्झौतालाई सकरात्मक रुपमा लिएर रचनात्मक रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । लुम्बिनीको बैठकले एमाले प्रदेश कमिटिका जिम्मेवारी तोकिएको छ । नेकपा एमाले लुम्बिनीको अध्यक्षमा लिला गिरी, उपाध्यक्ष खेम बहादुर खड्का, सचिव भूमिश्वर ढकाल चयन भएको समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
पौडेलले एमसीसीको विषय संसदमा प्रवेश भएपछि मात्रै एमालेले निर्णय लिने बताए ।