काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै एमसीसी अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएको उनका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले जानकारी दिए ।
बिहीबार नेपाल आएलगत्तै सुमारले राजनीतिक भेटवार्ता जारी राखेकी छिन् । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता
सुरु गरेकी उनले बिहीबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरेकी थिइन् ।उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।