काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको कप्तानी पनि छाड्ने घोषणा गरेका छन् ।
टी–२० विश्वकपपछि भारतीय टिमको टी–२० को कप्तानी छाड्ने घोषणा गरेका कोहलीले आईपीएलको टीम रोयल च्यालेन्जर्स बैंगलोरबाट पनि कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले आइतबार कप्तानी छाड्ने घोषणा गरेसँगै एकाएक तरङ्ग छाएको छ । तर यो सिजन भने उनले कप्तानी गर्नेछन् । उनले आइतबार भने, ‘कप्तानका रुपमा यो मेरो आखिरी आईपीएल हो ।’
कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहेका छन् । कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेल खेलेकामा ६० जित निकालेको छ । ६५ खेलमा पराजित हुँदा ३ खेल टाइ भएको छ । ४ खेलमा नतिजा आएन । उनले कप्तानका रुपमा ४ हजार ६७४ रन बनाइसकेका छन् । बैंगलोरबाट उनले १९९ खेलमा ६ हजार ७६ रन बनाएका छन् । कप्तानका रुपमा भने १३२ खेलमा ४३.२७ को औसतमा ४ हजार ६७४ रन बनाएका हुन् ।
कप्तानका रुपमा उनको स्ट्राइक रेट १३४.११ हो । उनले आईपीएलमा ५ शतक बनाएका छन् । सबै कप्तानका रुपमा बनाएका हुन् कोहलीको कप्तानीमा सोमबार बैंगलोरले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । आइतबारदेखि यूएईमा जारी आईपीएलको बाँकी सिजनमा आइतबार चेन्नई सुपर किंगसले मुम्बई इन्डियन्सलाई २० रनले हरायो ।
आईपीएलमा बंगलोर ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । समान ८ खेलबाट चेन्नई र दिल्ली क्यापिटल्सको १२ अंक छ । बैंगलोरले अहिलेसम्म आईपीएलको उपाधि जितेको छैन ।