उदयपुर – उदयपुरमा कोरोनाको दर घटेसँगै चौदण्डीगढी नगरपालिका–६ सातधारे स्थित कोभिड अस्पताल पूर्णरुपमा खाली गरिएको छ। ४ महिला र २ पुरुष गरी ६ जनाले आइतबार कोरोना जितेर घर फर्किएसँगै उदयपुरको कोभिड अस्पताल खाली भएको हो।
एक साता यता दैनिक संक्रमितको संख्या पाँचभन्दा मुनि रहेको र त्यो पनि घरमै सुरक्षित बस्दै आएकाले अस्पताल खाली गरिएको हो। गत वैशाख ९ गतेदेखि कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि कोरोना संक्रमितको उपचारको लागि अस्पताल सञ्चालनमा आएको थियो।
अस्पतालमा उपचाररत सबै संक्रमित कोरोना मुक्त भएकोले करिब ५ महिनापछि अस्पताल खाली भएको नगर स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर पोखरेलले बताए। यो अवधिमा २ सय ८२ महिला र २ सय ४७ पुरुष गरी कूल ५ सय २९ जना भर्ना भएका मध्ये २ सय ६६ महिला र २ सय १९ पुरुष गरी ४ सय ८५ जना निको भइ घर फर्किएका छन्। अस्पतालबाट उपचार सम्भव नभएपछि १५ महिला र २७ पुरुष गरी ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो। अस्पतालमा १ पुरुष १ महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ। त्यसैगरी कोरोना शुन्य अवस्थामा पुर्याउनका लागि शंकास्पद सबैले समयमा परीक्षण गराइ सहयोग पुर्याउन अस्पतालले अनुरोध समेत गरेको छ।
जिल्लामा सोमबार एक पुरुषमा संक्रमण देखापरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुईंटेलले जानकारी दिए। जिल्लामा संक्रिय संक्रमितको संख्या १४ महिला र १७ पुरुष गरी ३१ जना रहेका छन्। सबै जना होमआइसोलेसनमा सुरक्षितसाथ बसेको उनले बताए। जिल्लामा हालसम्म संक्रमितको संख्या तीन हजार ५१० पुगेको छ। त्यसमध्ये ३६ पुरुष र १६ महिला गरी ५२ जनाको ज्यान गएको लुईंटेलले बताए।