एजेन्सी – ड्रग्स केसमा पक्राउ परेर जेलमा रहेका छोरा आर्यन खानलाई बलिउड अभिनेता साहरुख खानले पहिलो पटक भेटेका छन् । उनी आज विहान आर्थर रोड जेल पुगेर छोरालाई भेटेर फर्किएको भारतीय मिडियाले लेखेका छन् ।
यसअघि बुधबार मात्र त्यहाँको एक अदालतले जमानतमा रिहा हुनका लागि आर्यनले गरेको अपिललाई खारेज गरिदिएको थियो ।मुम्बईको आर्थर रोड पुगेका साहरुखले त्यहाँ १८ मिनेट छोरासँग कुराकानी गरेको भारतीय मिडियाले लेखेका छन् । ३ अक्टोबरमा क्रुजमा ड्रग्स पार्टी गरिरहेको अवस्थामा पक्राउ परेका आर्यनसँग त्यसपछि साहरुख खानको यो पहिलो भेट हो ।
अब आर्यनका वकिलले उनलाई जमानतमा रिहा गर्न आज मुम्बईको उच्च अदालतमा निवेदन दिएका छन् । तर, उनलाई उच्च अदालतले पनि जमानतमा रिहा गर्ने सम्भावना कम रहेको भारतीय मिडियाले अनुमान गरेका छन् । आर्यन खान पक्राउ परेपछि उनीसँग परिवारका सदस्य भेट्न पुगेको यो पहिलो पटक हो ।