०८ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १६, २०७८

हेभी इक्विपमेन्ट बोकेका सवारीसाधनले सडक भत्किएपछि ढलान
पाल्पा — कालोपत्र गरिएको केही दिनमै हेभी इक्विपमेन्ट बोकेका सवारीसाधन गुड्न थालेपछि काम नसकिँदै सडक भत्किएको छ । कालोपत्र भत्किने र खाल्डाखुल्डी भएपछि निर्माण व्यवसायीले भने ढलान गरिदिएको छ । यसको स्थानीयले विरोध गरेका छन् । सडक गुणस्तरमा प्रश्न गर्दै स्थानीयले तत्काल सुधार्न माग गरेका हुन् ।

ठेकेदारले होलाङ्दी बाइपास नयाँ कालोपत्र सडकमा ढलान (सिमेन्ट–बालुवा) गरेको हो । कालोपत्र गर्न रामेछाप सुनिल समिर जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । निर्माण कम्पनीले २०७६ फागुन १५ मा ठेक्का सम्झौता गरेर २०७७ फागुन १४ मा निर्माण सम्पन्न गर्नुपर्ने हो । कोरोनाका कारण अर्थ मन्त्रालयको परिपत्रअनुसार म्याद थप गर्ने प्रक्रियामा रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । ६ करोड ६९ लाख २८ हजार ७ सय ७६ रुपैयाँ भ्याटसमेतको रकममा काम गर्ने ठेक्का लिएको कार्यालयले जनाएको छ ।

तानसेन होलाङ्दीदेखि ढुंगाखानी जाने बाइपास सडकमा कालोपत्र गरेको स्थानमै व्यवसायीले ढलान गरेको छ । प्राविधिक रूपमा भने यसलाई सही मानिंदैन । सडकको ठाउँठाउँमा खाल्डा परिसकेको छ । फिनिसिङ समेत गरेको छैन । सडक पूर्वाधार विकास कार्यालयका कर्मचारी र निर्माण व्यवसायीको लापरबाहीले यस्तो भएको स्थानीयको आरोप छ ।

सही ढंगले निर्माण व्यवसायीलाई काम गराउन नसक्दा भविष्यमा समस्या आउने स्थानीय कृष्ण कार्कीले बताए । प्राविधिक तथा इन्जिनियर भीमसेन कार्कीले नयाँ कालोपत्र गरेको स्थानमा यसरी ढलान गर्नु राम्रो नहुने बताए । उनले सडकमा त्यसरी माथिबाट राखेको ढलान लामो समय टिक्न नसक्ने सुनाए ।

‘प्राविधिक हिसाबले राम्रो होइन,’ उनले भने, ‘यसका लागि सम्बन्धित निकायको निगरानी र अनुगमन प्रभावकारी हुनुपर्छ ।’ तानसेन–रिडी वाइपास सडकअन्तर्गत होलाङ्दी–ढुंगाखानी खण्डको सडक कालोपत्र हस्तान्तरण नहुँदै कन्तबिजोक भएको वडा सदस्य विष्णु कार्कीले बताए । ३ किलोमिटर २ सय मिटर कालोपत्र सडकमा ओभरलोड सवारी साधन सञ्चालन हुँदा सडक बिग्रिएको हो ।

सोमादीको सर्देवामा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा सामान ढुवानी गर्ने ठूला सवारी साधनको अटेरीपनाले सडक छिटो बिग्रिएको बताइन्छ । साथै सर्वोत्तम सिमेन्टका टिप्परहरू जथाभावी ढंगले गुडाएकाले सडकमा क्षति पुगेको स्थानीयले बताए ।

सम्बन्धित सरोकारवाला निकायको ध्यान नपुग्नु र स्थानीयले पनि यसमा चासो नदिएकाले समस्या भएको उनले बताए । सिजीका ३० देखि ४० टन सामान बोक्ने लरीहरू नयाँ कालोपत्र राख्दा राख्दै गुडेका थिए । भर्खर राखेको कालोपत्र सडकमा ओभरलोड सवारी साधन सञ्चालन भएका कारण नाली क्षेत्रमा सडक दबेको छ । सडकको दायाँ र बायाँ भागमा सडक भासिएको छ । त्यसैमा निर्माण व्यवसायीले ढलान गरेको हो ।

निर्माण कम्पनीका प्रतिनिधि रमेश खनालले सडक कालोपत्रका समयमा प्रशासनको उचित सहयोग नभएको गुनासो गरे । टिप्पर, हेभी लोड भएका सवारी साधनका कारण पनि सडक बिग्रिएको उनले बताए । ‘कालोपत्र गर्दैगर्दा समेत निर्माणधीन सिजी सिमेन्ट उद्योग सर्देवाका लागि आवश्यक सामान बोकेका हेभी सवारी साधन गुड्दा समस्या भयो,’ उनले भने । सर्वोत्तम सिमेन्ट चुनढुंगा बोक्ने टिप्पर सञ्चालन गरेका कारण समस्या भएको उनले बताए । प्रशासन कार्यालयमा पटक–पटक जानकारी दिए पनि बेवास्ता गरेको उनले बताए । ‘ट्राफिक प्रहरी कार्यालयले समेत यसमा सहयोग गरेनन्,’ उनले भने ।

सिजी सिमेन्ट उद्योगले यस क्षेत्रमा समन्वयका लागि पूर्वप्रहरी अधिकृत राख्ने र उनीहरूका कारण पनि सिजी कम्पनीप्रति लाचार प्रस्तुत गर्ने गर्छन् । ट्राफिक प्रहरीले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न टिप्पर तथा ओभरलोड सवारी साधन वाइपासको सडकबाट पठाउने गर्छ । जसले गर्दा निर्माण कम्पनीलाई समस्या परेको गुनासो गर्दै आएका थिए । सडकमा दैनिक ५ सय बढी टिप्पर सञ्चालन हुने गर्छन् । गुल्मी, अर्घाखाँची, बाग्लुङलगायतका स्थानमा जाने मालवाहक सवारी साधनसमेत यही सडक भएर सञ्चालन हुने गर्छन् । जथाभावी सञ्चालन हुने टिप्परले सडक ध्वस्त पारेर निर्माणमा समस्या भएको निर्माण कम्पनीको दाबी छ ।

तानसेन नगरपालिका–५ का वडा सदस्य विष्णुबहादुर कार्कीले नियमन र सहयोगी कार्यालयको बेवास्ताका कारण कालोपत्र सडक बिग्रिएको बताए । उनले सडक निर्माण कार्य सम्पन्न नहुँदासम्म सवारी साधनमा रोक लगाएर गुणस्तरीय काम गर्नुपर्ने बताए । ‘सडक निर्माण गर्दा कुनै व्यक्ति तथा निकायको नाफा घाटालाई हेरेर नभई सडकको गुणस्तरलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ,’ उनले भने ।

निर्माण व्यवसायीले लाइनिङको कामबाहेका सबै सकेकाले हस्तान्तरण गर्न खोजेको छ । तर सडक पूर्ण रूपमा फिनिसिङ नभएसम्म कार्यालयले नबुझ्ने सडक पूर्वाधार विकास कार्यालय जिल्ला प्रमुख प्रेमनारायण बस्यालले बताए । उनका अनुसार काम गुणस्तरीय भए पनि विविध कारणले सडक तत्काल लिन सकिने अवस्था नरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]