एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको इन्टर मिलान र एसी मिलानले जित निकाल्दा नेपोलीले हार बेहोरेको छ ।घरेलु मैदानमा इन्टरले टोरिनोलाई १–० ले पराजित गरेको हो ।
इन्टरको जितमा खेलको ३०औं मिनेटमा डेन्जेल डमफ्रेजले गरेको गोल नै निर्णायक बन्यो । उनले इडेन जेकोको पासमा गोल गरेका थिए ।त्यसपछि थप गोल निस्कन सकेन । जितसँगै शीर्षस्थानमा रहेको इन्टरको १९ खेलबाट ४६ अंक पुगेको छ । पराजित टोरिनो २५ अंक जोडेर ११औं स्थानमा छ ।
अर्काे खेलमा एसी मिलानले इम्पोलीलाई ४–२ ले पराजित गर्दै शीर्षस्थानको इन्टरसँगको दुरी छोट्याउन सफल भएको छ । मिलानको जितमा फ्रान्क केस्सीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जी र थियो हर्नान्डेजले समान एक गोल गरे । घरेलु टोली इम्पोलीका नेदिम बजरामी र एन्ड्रिय पिनामोन्टीले गोल गरे ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको मिलानको १९ खेलबाट ४२ अंक पुगेको छ । मिलान शीर्षस्थानको इन्टरसाँग ४ अंकले पछि छ । पराजित इम्पोली २७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्काे खेलमा नेपोली घरेलु मैदानमा आत्मघाती गोलबाट स्पेजियासँग १–० ले स्तब्ध बनेको छ । ३७औं मिनेटमा जुआन जेससले आत्मघाती गोल गर्दा त्यही गोल नै नेपोलीको हारमा निर्णायक बन्यो ।
हारसँगै नेपोलीले दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ । नेपोलीको ३९ अंक छ । स्पेजिया १६ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ ।