काठमाडौं – दक्षिण भारतीय सुपरस्टार नागा चैतन्य आफ्नी पूर्व श्रीमती सामन्था रुथ प्रभुसँग भएको सम्बन्ध विच्छेदपछि पहिलो पटक सार्वजनिक रुपमा बोलेका छन्।
आफ्नो आगामी फिल्म ‘बंगाराजू’को प्रोमोसनका क्रममा उनले भारतीय सञ्चारमाध्यमसँग बोल्दै सामन्थासँगको सम्बन्ध विच्छेद दुवैको लागि राम्रो निर्णय भएको बताएका छन्।
चार वर्षअघि विवाह गरेका नागा र सामन्था गत वर्ष अक्टोबरमा छुटेका थिए। सामन्थाले डिभोर्स लगत्तै सामाजिक सञ्जाललगायतका माध्यमबाट यस विषयमा आफ्नो धारणा राखेता पनि नागा भने चुपचाप बसेका थिए। अन्ततः डिभोर्सको तीन महिनापछि उनी सार्वजनिक रुपमा आफ्नो सम्बन्धलाई लिएर बोलेक छन्।
‘म तपाईंहरुलाई भन्न चाहन्छु, हामी दुई छुट्ने निर्णय हाम्रै भलाइको लागि लिइएको थियो,’ नागाले भनेका छन्, ‘यदि उनी (सामन्था) खुसी छिन् भने म पनि खुसी छु। त्यो परिस्थितिमा हामी दुवैले मिलेर सबैभन्दा राम्रो फैसला गरेका थियौं।’
नागा अहिले आफ्नो आगामी फिल्म ‘बंगाराजु’को प्रमोसनलाई लिएर व्यस्त छन्। फिल्ममा उनीसँगै उनका बुबा नागार्जुन अक्किनैनी, राम्या कृष्णन र कृति शेट्टीको अभिनय रहेको छ। फिल्म्लाई कल्याण कृष्ण कुरासलाले निर्देशन गरेका छन्।