सप्तरी – बैतडीको सुर्नया गाउँपालिका–६ मा ३० वर्षीय डम्बर अवस्थीको हत्या भयो । उनको हत्यापछि प्रहरीले घटनाको अनुसन्धान थाल्यो । प्रहरीले उक्त घटनामा हालसम्म २ जनालाई गिरफ्तार समेत गरेर अनुसन्धान चलिरहेको जनाएको छ ।
गत मंसिर १४ गतेबाट हराएका डम्मरको शव स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा फेला परेको थियो। जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो ।
उनको हत्या प्रकरणमा प्रहरीले सोही ठाउँका हरिश अवस्थी र नवराज अवस्थीलाई पक्राउ गरेको थियो । अहिले पनि अदालतबाट म्याद थपेर दुवैमाथि अनुसन्धान जारी रहेको बैतडी प्रहरीले बताएको छ। तर, पीडितका परिवार तथा आफन्तले भने हत्यामा थप अरु पनि संलग्न रहेको दाबी गरेका छन्।
उनीहरुले घटनामा राजनीतिक चलखेल तथा शंकास्पद व्यक्तिहरुका बारेमा प्रहरीलाई जानकारी दिँदा समेत कुनै वास्ता नगरेको बताएका छन्।
यही घटनाको विषयलाइ लिएर डम्बरका आफन्त तीर्थराज अवस्थी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन्। उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई एक निवेदनसमेत गरेका छन् ।
अनुसन्धानमा प्रहरीले नै असहयोग गरेको र त्यसमाथि छानबिन तथा अनुसन्धान गरिदिन उनले माग गरेका छन् । मन्त्रालयलाई गरिएको निवेदनमा घटनाको यथेष्ट अनुसन्धान गरेर कारबाहीको लागि पहल तथा परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।