सप्तरी – बाँके प्रहरीमा जुम्लाकी एक महिलाले मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बानियाँले बलात्कार गरेको आरोपको जाहेरी दिएको तीन दिन बितिसक्दा पनि मुद्दा दर्ता हुन सकेको छैन। मुद्दा दर्ता ढिलाइ भएको विषयमा पीडितले तीन दिन बितिसक्दा पनि मुद्दा दर्ता हुन नसकेको र झन् पीडित बनाएको आक्रोश पोखिन्। ती महिलाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको विषयमा बाँके प्रहरी नेपालगन्जमा जाहेरी दिएको, तर अहिलेसम्म किन ढिलाइ भइरहेको हो ? भन्ने विषयमा अच्चमित भएको बताइन्।
उनले बुधबार फेरि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाइँ भनेर अपडेट गर्दा प्रहरीले यो मुद्दा दर्ता भएजस्तै मान्नु भन्दै सम्झाएको तर आधिकारिक मुद्दा दर्ता नभएको पीडित महिलाले जानकारी दिइन्।
जिल्ला प्रहरी बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले वहालवाला सांसदको विरुद्धमा जाहेरी आएको र अहिले संसद् चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले केही ढिलाइ भएको बताए। उनले भने, ‘पीडितको जाहेरी अनुसन्धान भइरहेको छ। उहाँले जाहेरी दिइसक्नुभएको छ, मेडिकल जाँचदेखि घटनास्थल जाँचसमेत भइसकेकाले मुद्दा दर्ता हुन्छ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटनाको अनुन्सधानसँगै मुद्दा दर्ता प्रक्रिया अघि बढिरहेको बताए। उनले पीडितले न्याय पाउने र दोषीलाई कारबाही गर्ने कुरामा शून्य सहनशीलता अपनाउनसमेत दाबी गरे।