सप्तरी – रूपन्देहीका २ गाउँपालिका अध्यक्ष सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जिल्लाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन् ।
स्थानीय राजनीतिमा प्रभावशाली नेता कार्यकर्तासहित नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।
केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन् । रूपन्देहीका १६ पालिकामध्ये ओमसतिमामा मात्र माओवादीले २०७४ सालको स्थानीय तह निर्वाचनमा जीत हासिल गरेको थियो ।
यादव तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् । सनोज रूपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइ हुन् ।
सनोजको स्थानीय क्षेत्रमा राम्रो प्रभाव छ । एमाले रुपन्देहीले धकधईमा विशाल कार्यक्रम गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ ।
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले २०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।
सरकारले निर्वाचनको मिति घोषणासँगै तराई/मधेशमा दल अदलबदलको क्रम शुरू भएको छ । मधेशको मत चलायमान मानिन्छ । गत बिहीवार सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला बब्लु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।