जोमसोम – विश्वकै सबैभन्दा लामो दुरीको मुक्तिनाथ केवलकार परियोजना द्रुत गतिमा सर्वेक्षण भइरहेको छ। केवलकार कम्पनी मुक्तिनाथ दर्शन प्रालिले म्याग्दी, पर्वत, कास्की जिल्लामा सर्वेक्षण सकेर अहिले मुस्ताङमा थप सर्वेक्षण थालेको हो।
झन्डै ५५ अर्ब लगानी रहने मुक्तिनाथ केवलकार परियोजनाको आन्तरिक तयारी ३ वर्षअघिदेखि सुरु गरिएको थियो। अहिले मुक्तिनाथ केवलकार प्रालि र जिओ इन्फो इन्जिनीयरिङ कल्सन्टेन्सीले सयुक्त रुपमा सर्वेक्षण गरिरहेको प्रालिका वरिष्ठ जनसम्पर्क अधिकृत नविनकुमार शाहीले जानकारी दिए।
घना वनक्षेत्र, उच्च पहाड, खोंच, नदी किनार र केवलकार प्वाइन्ट राख्ने सर्वेक्षणका लागि अहिले ड्रोन क्यामेरामार्फत फोटो र भिडियो खिच्ने र फिल्ड सर्वेक्षणको काम भइरहेको उनले बताए। पहिले सर्वे गरिएका अध्ययन र सवेक्षणमा परिवर्तन हुन सक्ने भएकाले त्यसमा देखिएका अस्पष्टतालाई पहिचान गर्ने गरी पछिल्लो अत्याधुनिक प्रविधिमार्फत सर्वेक्षण गरिएको वरिष्ठ जनसम्पर्क अधिकृत शाहीको भनाइ छ।
उनले केही हप्ताभित्रै थप सर्वेक्षणको काम सकिने बताए। दुई वर्षअिघि विदेशबाट झिकाइएको प्लेनबाट केवलकारको हवाइमार्गबाट लाइडर सर्वे भएको थियो। कोभिडका कारण केही समय अन्य काम रोकिन पुगेको उनले जनाए।
लगानी बोर्डले मुक्तिनाथ केवलकार परियोजनालाई २०७५ साल साउन १ गते विस्तृत परियोजना प्रतिवेदन–डिपिआर र वातावरण प्रतिवेदन मूल्याङ्कन (इआइए) गर्ने अनुमती प्रदान गरेको थियो। त्यसपछि अष्ट्रेलियन कम्पनी एएएम गु्रपले विशेष विमानबाट केवलकार परियोजनाको ‘लाइट डिटेक्सन एवं रेजिङ (लाइडर) सर्वे र विभिन्न अध्ययन पूरा गरी डिपिआरसमेत तयार गरिएको हो। तर इआइएको अनुमति चालुवर्षको कार्तिक महिनामा वन तथा वातावरण मन्त्रालयले सहमति दिएको र त्यसको पनि प्रक्रिया अघि बढाइने वरिष्ठ जनसम्पर्क अधिकृत शाहीले उल्लेख गरे।
परियोजनाको डिपिआर प्रतिवेदन गत वर्षको कार्तिकमा लगानी बोर्डमा बुझाइएको थियो। मुक्तिनाथ दर्शन प्रालिले केवलकारका लागि चाहिने १९ वटा स्टेशनको प्रालिका अध्यक्ष अरुणकुमार सुवेदी, इआइ कल्सटेन्सी (नेस)का प्रतिनिधिले फिल्ड भिजिट गरी परियोजनाको स्कोपिङ र टोर अधि बढाइ त्यसको ड्राफ आइभिएसमा पेश गरिएको थियो।
उनीहरुले अन्नपूर्ण सर्वेक्षणक्षेत्र आयोजना(एक्याप) र स्थानीयबासीको राय सल्लाह लिएका थिए।‘डिपिआर भइसकेको छ। थप सर्वेक्षण भइरहेको छ’, वरिष्ठ जनसम्पर्क अधिकृत शाहीले भने, ‘अब इआइए प्रक्रिया पनि चाँडै सुरु हुन्छ। त्यसपछि सरकारसँग आयोजना विकास (पीडिए) सम्झौता हुन्छ।’
मुक्तिनाथ केवल परियोजनाको सबै काम सकिएपछि पीडिए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौता गरी बैशाखमै केवलकारको शिलन्यास गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए। तर इआइएका लागि स्थानीय तहले गर्ने सहजताका आधारमा कति समय लाग्न सक्ने त्यसमा निर्भर रहने र यसको बाटो खुलेमा ६ महिनामा सक्ने उनको भनाइ छ। यसका लागि स्थानीय स्तरमा नागरिक सुनुवाई गर्नुपर्ने र जनसमर्थन चाहिने बताए। केवलकार कम्पनीले इआइए सकिनेबित्तिकै संरचना निर्माणको काम थाल्ने उनको भनाइ छ।
विश्वकै लामो केवलकार परियोजनाका लागि ४५ अर्ब वित्तीय लगानी हुने र १० अर्ब कम्पनीको लगानी रहने वरिष्ठ जनसम्पर्क अधिकृत नविककुमार शाहीले जानकारी दिए। झन्डै ८० दशमलव १५ किलोमिटर लामो केवलकार ४३ महिनामा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ। यसका लागि जग्गा व्यवस्थापन गर्न सरकारले पास गर्नुपर्ने उनको भनाइ छ।
केवलकारको कुल १९ वटा स्टेशनमा ७ सय ७० वटा यात्रु चढ्ने गोन्जाला हुने उनले उल्लेख गरे। केवलकारको ८ वटा अनिवार्य स्टेसन हुनेछ भने ५ वटा स्टेशनमा आवश्यक परेमा उक्लिने र ओर्लिन पाउने छन्। यस्तै केवलकारको ११ वटा स्टेशनमा बाँस बसेर जान पाइने छ। केवलकार सञ्चालनमा आएमा वार्षिक ३५ लाख पर्यटकले यात्रा गर्ने कम्पनीको अनुमान छ।
गण्डकी प्रदेशकै पर्यटकीय लाइफलाइन मानिएको मुक्तिनाथ केवलकारले ४ जिल्लाको ६ वटा स्थानीय तहकोक्षेत्र तय गर्नेछ। कास्की, पर्वत, म्याग्दीमा समान एक-एक स्थानीय तह र मुस्ताङमा ३ वटा स्थानीय हुँदै बिरेठाँटीमा सुरु गरिएको केवलकारको यात्रा अन्तिम स्टेशन मुक्तिनाथमा पुगेर टुङ्गिने छ।