०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

चितवन – चितवन सेकेन्डरी स्कुलको नर्सरीमा अध्ययनरत सुवर्ण मल्लका कापी हेर्ने हो भने उनका सुन्दर र प्रष्ट अक्षर देखिन्छन् । प्राय: बेञ्चको पहिलो लहरमा बस्ने यी हँसिली नानीका अक्षर अरु सहपाठीका भन्दा राम्रै छन् ।

राम्रा अक्षर लेख्ने उनको तरिका भने अरु विद्यार्थीको भन्दा पृथक छ । त्यसरी लेख्ने बालबालिका यो स्कुलमा मात्रै नभएर यो क्षेत्रमै उनी एक्ली हुन् । चितवन पदमपुरका बासिन्दा विष्णुबहादुर मल्लकी ४ वर्षीया छोरी स्कुल जान थालेको एक वर्ष मात्रै भएको छ । तैपनि यति छोटो अवधिमा सुन्दर अक्षर लेखेको देख्दा जोकोही दंग पर्छन् ।

पढ्न, लेख्न, खेल्न र मोबाइल हेर्न रुचाउने सुवर्णको शारीरिक अवस्था भने अरुको भन्दा केही फरक छ । उनका दुवै हात छैनन् । काँध बाहेक हातको कुनै अवशेष छैन । उनी जन्मदा नै यस्तै अवस्था थियो । विष्णुले जन्मने बित्तिकै छोरीलाई दुई घण्टा काखमा खेलाएका थिए । तर उनले हात तिर हेर्नै भ्याएका रहेनछन् ।

‘पछि मेरो भाउजु र सासूले हेरेर पो हात त छैन भन्नु भयो । सुकमायालाई त हामीले घर आएर नै सबै कुरा बताएका हौं’ विष्णुले भने । हात नभएको कुरा बिर्सेर यी दम्पतिले छोरीमाथि माया ममता पूरै खन्याए । छोरी राम्रैसँग हुर्कँदै गइन् । उनको उमेरका बालबालिका स्कुल जान थालेपछि भने विष्णु र सुकमायालाई अलि पिर पर्न थाल्यो । हातै नभएकी बच्चीले कसरी लेख्ली, नलेख्नेलाई स्कुलले कसरी पढाउला भन्ने चिन्ता पर्‍यो ।

स्कुलका प्रिन्सिपल लक्ष्मीप्रसाद पोखरेलले पनि यो कुरा थाहा पाएपछि बालिकालाई कक्षा १० सम्म नि:शुल्क पढाउने प्रतिबद्धता गरे । ‘मैले बालिकाको अवस्थाका बारेमा सुनेपछि उहाँहरुलाई भेटेर कुरा राखें । पढाउन ल्याउनुस् १० कक्षासम्म कुनै शुल्क लिँदैनौं भनें’ प्रिन्सिपल पोखरेलले भने, ‘सुरुमा लेखाउन गाह्रै थियो । खाने बेलामा समेत शिक्षकहरुले नै सहयोग गर्नुपर्थ्यो । तर बिस्तारै सुवर्णले हातले गर्ने धेरै काम खुट्टाले गर्न थालिन् ।’

खुट्टाले मोबाइल समाउने गरिरहेपछि बिस्तारै कापी, कलम पनि च्याप्न उनलाई गाह्रो भएन । आमा सुकमाया भन्छिन्, ‘मोबाइल समाउने भएपछि लेखाउन थाल्यौं ।’ चञ्चले स्वभावको भएकाले पनि सुवर्णलाई फकाइ फकाइ लेखाउनु पर्ने बताउँछन् प्रिन्सिपल पोखरेल । अचेल त उनी कक्षामा अगाडि उभिएर अरुलाई पढाउन पनि अघि सर्छिन् रे । बोलेको कुरा फ्याट्ट टिप्ने र सम्झने उनको गुण छ ।

प्रिन्सिपलका अनुसार अरु बालबच्चासँग मिलेर खेल्दा खुबै रमाउँछिन् । स्कुलबाट घर गएपछि साँझ नपर्दासम्म खेल्ने गर्छिन् । त्यसपछि बाबुआमाले घर ल्याएर पढाउने लेखाउने गर्छन् । स्कुलमा जस्तो रुची दिएर घरमा भने नपढेको आमा सुकमायाको गुनासो छ । उनी केही कुरा खुट्टाले समाएरै खाने पनि गर्छिन् । बाहुला मिलाउने, अक्षर राम्रो नभए इरेजर समाएर मेट्ने पनि उनी आफैं गर्न सक्छिन् ।

पानीको गिलास वा बोत्तल समाएर पिउने काम पनि खुट्टाको सहारामा मज्जैले गर्न थालेकी छन् उनले। ‘हात नै नहुँदा सुरुमा यसको जीवन के होला भन्ने लाग्थ्यो । तर अहिले हातले गर्ने काम फटाफट खुट्टाले राम्रोसँग गरेको देख्दा त्यस्तो चिन्ता छैन । दिसा-पिसाब गराउन भने सहयोग चाहिन्छ’ बाबु विष्णुबहादुरले भने ।

विष्णु गाउँमा ट्रयाक्टर चलाउने काम गर्छन् । आमा सुकमाया पनि सानोतिनो काम गर्ने बताउँछिन् । परिवारमा भरपर्दो र राम्रो आयस्रोत नभएकाले पनि छोरीलाई नि:शुल्क पढाइदिनाले सहज हुने विष्णु र सुकमायाको आशा छ । शारीरिक अपांगता भए पनि छोरीले छोटो समयमै लेखपढ गर्न जानेकोमा विष्णु र सुकमाया खुसी देखिन्छन् । साथै छोरीको इच्छा र चाहना अनुसार उनलाई अगाडि बढाउन आफूले हरसम्भव प्रयास जारी राख्ने उनीहरूको अठोट छ ।

पदमपुर पहिला सौराहा हुँदै राप्ती नदी तरेर गएपछि आउने चितवन राष्ट्रिय निकुञ्जको जंगलबीचमा थियो । पछि यो पूरै बस्ती स्थानान्तरण भएर महेन्द्र राजमार्गदेखि उत्तरी क्षेत्र खगेरी खोला छेउको जंगल नजिकै आयो । सुकमायासँग ११ वर्षअघि विष्णुको बिहे भयो । वि सं २०७४ सालको मंसिर आठ गते उनीहरुको पहिलो सन्तानको रुपमा सुवर्ण जन्मिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]