काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेशी बैंकको शाखा नेपालमा खोल्न चुक्ता पुँजीको सीमा २ करोड अमेरिकी डलरमा झारेको छ ।
नेपालमा नेपाली लगानीकर्ताले ‘क’ वर्गको बैंक अर्थात् वाणिज्य बैंक खोल्न ८ अर्ब रुपैयाँ चुक्ता पुँजी राख्नु पर्ने व्यवस्था छ ।
त्यसै अनुसार विदेशी बैंक समेत नेपालमा खोल्न झण्डै ८ अर्ब रुपैयाँ नै आवश्यक हुनेगरी निर्णय गर्ने प्रावधान थियो । तर, हाल राष्ट्र बैंकले ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै विदेशी बैंक नेपालमा खोल्न चुक्ता पुँजीको सीमा २ करोड डलर अर्थात् झण्डै २ अर्ब ४४ करोड रुपैयाँ भए पुग्ने व्यवस्था गरेको हो ।
बढी चुक्ता पुँजीको सीमा निर्धारण गर्दा विदेशी बैंक नेपालमा नआउने जोखिम बढेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदशी बैंकको प्रतिनिधि कार्यालय नेपालमा खोल्न आवश्यक प्रक्रियासम्बन्धी लिखित व्यवस्था नीतिमा गरेकाे छ ।