नेपालगन्ज – सरकारले सन २०३० भित्र नेपालवाट हात्तीपाईले (फाईलेरिया) रोगको निवारण गर्ने लक्ष्य लिएको छ । जसअनुरुप बाँके जिल्लामा बाह्रौ पटक औषधि खुवाउने अभियान यतिबेला चलीरहेको छ । रोग निवारणका लागि अभियान संचालन भईरँहदा औषधि प्रतीको अन्धविश्वास र नकारात्मक धारणाले मुश्लीम समुदायका धेरैजनाले औषधी सेवन नगर्ने गरेको पाइएको छ । जस्का कारण रोग निवारण गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।
११ औं पटकसम्म औषधी सेवन अभियान सञ्चालन हुँदा पनि रोग निवारण हुनुको साटो हात्तीपाईलेका नयाँ विरामीहरू भेटिन थालेपछि स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विज्ञ टोली बाँकेका समुदायमा आफंै पुगेको छ । अनुगमनका क्रममा खासगरी मुस्लीम समुदायका धेरै ब्यक्तिले औषधी सेवन नगरेको पाइएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा किटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले बताए ।
विगतमा असर गरेको भन्दै औषधीप्रतिको नकारात्मक धारणा राखेका कारण सेवन गर्न नमानेको बताउँदै उनीहरूलाई स्थानीय जनप्रतिनिधि, धर्मगुरुलगायतले औषधी खान अनुरोध गर्ने गरी छलफल अघि बढाएको उनको भनाइ छ । ‘हामीले यहाँका धर्मगुरु, अगुवा, जनप्रतिनिधिलगायतलाई औषधी सेवनबारे बुझाउन आग्रह गरेका छौ’ उनले भने ।
डा. दाहाल हात्तीपाईले रोग निवारणका लागि एक व्यक्तिले लगातार ६ वर्षसम्म औषधी सेवन गर्नुपर्ने बताउँछन । ‘बाँके जिल्लामा यतिबेला १२ औँ पटक आम औषधि सेवन अभियान सञ्चालन भइरहेको छ’ उनले भने ‘तरपनि रोग निवारण हुनुको साटो हात्तीपाईलेका नयाँ बिरामीहरू भेटिनु निकै चुनौतीको बिषय हो ।’ भेटिएका ती बिरामीहरूले औषधी सेवन नगरेको पाइएको उनको भनाइ छ ।
औषधी खुवाउने अभियान प्रभावकारी नभएपछि सम्बन्धित वडाका जनप्रतिनिहरूले समेत समुदायस्तरमा अनुरोध गर्ने गरेका छन् । नेपालगन्ज १६ का वडाअध्यक्ष हनिफ जोलाह आफुहरूले आग्रह गर्दा पनि औषधी सेवन गर्न स्थानीयहरू राजी नभएको बताउँछन् । ‘औषधी प्रतिको गलत बुझाईका कारण औषधी सेवन गर्न उनीहरू मान्दैनन्’, उनले भने ‘तरपनि वडाको टिम स्थानीयलाई औषधीको महत्व बुझाउन लागी परेको छ ।’
हात्तीपाईलेको औषधी खाएमा नपुसक हुने तथा अन्य समस्या देखिने भ्रम स्थानीयमा भएको उनीहरू बताउँछन् । यो भ्रमलाई चिर्न स्वास्थ्य कार्यालयले नसकेका कारण धेरैजसोले औषधी सेवन नगर्ने गरेको जैसपुरका स्थानीय अस्लम राईले बताए । यसअघि औषधी घरमा खाने भन्दै स्वास्थ्यकर्मीवाट लगरे धेरैले फाल्ने गरेको उनी बताउँछन । त्यसैले अहिले केही व्यक्तीमा हात्तीपाईलेका लक्षण पनि देखिएको उनको भनाइ छ । विगतमा औषधी घरमा खाने भन्दै लगरे सेवन नगरी फाल्ने गरेको स्वाथ्य कार्यालयका हात्तीपाईले फोकल पर्सन दुर्गा गौतमले स्वीकारीन । उनले यसअघि नखाएको पाईएपछि कडाई गरिएको बताइन । ‘अहिले हामीले प्रत्यक्ष स्वास्थ्यकर्मीकै निगरानीमा खुवाउन थालेका छौं’, उनले भनिन् ।
बाँकेमा सन २०११ देखि हात्तीपाईले रोग विरुद्ध आमऔषधी खुवाउने अभियान थालिएको थियो । त्यतिबेला गरिएको बेसलाईन सर्बे अनुसार जिल्लाका २०.८ प्रतिशतमा हात्तीपाईलेको संक्रमण देखिएको थियो । ११ औ पटक औषधि खुवाई सक्दा पनि जिल्लामा अझै ४.१ प्रतिशतमा हात्तीपाईलेको जीवाणु देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार १ प्रतिशतभन्दा कम भएपछि रोग निवारण भएको मानिन्छ ।
रोग निवारण हुनुको साटो बढन थालेपछि यहि फागुन २८ गतेदेखि बाँकेका ५ लाख ६८ हजार मानिसलाई दुई साता सम्म १२ औं पटक हात्तीपाईले बिरुद्धको औषधी खुवाउन थालिएको छ । औषधिप्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधी सेवन नगर्दा सन २०३० भित्र नेपालबाट हात्तीपाईले रोगको निवारण गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।