सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश चलाएका हुन् कि गुण्डाराजलाई संरक्षण भन्ने बुझ्न गाह्रो छैन । उनकै मन्त्रालयअन्तर्गतका एक अधिकृतले अर्का अधिकृतलाई ‘बढी बोल्नुभयो भने खुन गरिदिन्छु’ भनी धम्की दिँदा पनि मुख्यमन्त्री टुलुटुलु हेरेर बस्न बाध्य छन् ।
घटना केही दिन अगाडिको हो । उद्योग, वन तथा पर्यटन मन्त्रालयकी सचिव श्रीमती बिन्दू मिश्रको क्वार्टरमा पुगेर शाखा अधिकृत सुजितकुमार झाले तथानाम गाली गर्न थाले । अर्का अधिकृत राजेश मिश्रले यस्तो नगर्न भनी सम्झाउन खोज्दा ‘तिमी चूप लाग, धेरै बोल्यौ भने मारिदिन्छु’ भनिदिए ।
उपेन्द्र यादव नेतृत्वमा जसपा पार्टीको वन मन्त्रालयअन्तर्गत कर्मचारी संगठनमा आबद्ध सुजित झा, लालबाबु यादवलगायतका कर्मचारीहरु सचिव मिश्रलाई काठमाडौं लखेट्ने योजनामा छन् । सोही अभियानअन्तर्गत हरेक मिटिङमा सचिवलाई होच्याउने, त्रसित बनाउने, मानमर्दन गर्ने काम भएको छ ।
माधव नेपालको पार्टी र कांग्रेससहितलाई समेटेर लालबाबुको मन्त्रिपरिषद् पुनर्गठन भएपछि नेकपा एसका नेता शत्रुघ्न महतो वनमन्त्री भए र तत्कालीन मन्त्री रामनरेश राय यादवले बाहिरिनु प¥यो । पूर्वमन्त्री रायनिकट सुजितकुमार झालगायतको टोली ऐन–कानुन नमान्ने, आफूअनुकूल व्याख्या गर्न लगाउने र निहित स्वार्थपूर्ति गर्न सचिव श्रीमती मिश्रले नमानेपछि उनीविरुद्ध खनिएको बताइन्छ ।
मधेशी मूलकी, त्यसमा पनि महिला सचिव, आफ्नो प्रदेशको लागि केही गर्छु भन्ने अभिलाषा राख्दाराख्दै पनि उनलाई लखेट्न त्यो समूह सफल भयो । तत्कालीन मन्त्री रायले आफूअनुकूल योजना तथा बजेट बनाएर गएको र अहिले सो स्वार्थ पूरा गर्न नन्दलाल राय यादवलाई ल्याइसकिएको अवस्था छ ।