काठमाडौँ – बलिउड अभिनेता सलमान खानले फिल्म छायांकनका लागि नेपाल आउने बताएका छन् । पछिल्लो समय ‘बुलन्द’ फिल्मको छायांकनका लागि नेपाल आएका उनी आगामी जेठ १० मा दशरथ रंगशालामा आयोजना हुने ‘दबङ्ग लाइभ इन नेपाल’का लागि नेपाल आउँदैछन् ।
त्यही कार्यक्रमको शिलशिलामा सँस्कृति, पर्यटन तथा नागरिकमन्त्री प्रेमबहादुर आलेले भर्चुल संवादमा नेपाल छायांकनका लागि प्रस्ताव राख्दा सलमानले नेपालमा सुटिङ गर्न आउने बताएका हुन् । ‘यदि कुनै त्यस्तो फिल्म बन्यो, जसको नेपालमा सुटिङ आवश्यक लाग्यो भने हामी पक्का आउनेछौं,’सलमानले भने ।
‘बुलन्द’ फिल्मको छायांकनपछि नेपाल आउने मौका नमिले पनि यस पटक सांगीतिक कार्यक्रम गर्दै दर्शकलाई मनोरञ्जन दिन आफू तयार रहेको पनि सलमानले बताए ।
‘त्यहाँ खुबै मज्जा हुनेवाला छ । त्यहाँ नआएको धेरै समय भइसक्यो । बुलन्द भन्ने फिल्मको सुटिङ गर्न त्यहाँ आएको थिएँ । जुन फिल्म पछि बनेन । सायद त्यही समयमा नेपालमा ‘खुदा गहवा’को पनि सुटिङ हुँदै थियो । त्यसपछि नेपाल आउने समय मिलेन । अब मे २० मा आउने पक्का भएको छ । मेरो टिम नेपाल आउन खुसी छ,’सलमानले भने, ‘त्यहाँ आएर धेरै खुसी फैलाउनेछु । तपाईंहरुलाई मनोरञ्जन दिन सकुँ । यो २ वर्ष एकदमै कठिन रुपले बित्यो । मनोरञ्जन र खुशी जीवनमा हुन जरुरी छ ।’
सन् १९९२ मा सलमान ‘बुलन्द’को छायांकनका लागि नेपाल आएका थिए । ३० हजार दर्शक अपेक्षा गरिएको कार्यक्रममा सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पललगायत बलिउडका दर्जन कलाकार उपस्थिति रहने बताइएको छ । कार्यक्रममा नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ । सँस्कृति, पर्यटन तथा नागरिकमन्त्री प्रेमबहादुर आलेले भने नेपालमा सलमानलाई स्वागत गर्न आतुर रहेको बताए ।