अखेटोपहार (वन्यजन्तुको अङ्ग)सहित मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का एक जना युवकलाई विराटनगरबाट पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको छ ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट २४ वर्षीय धर्मबहादुर थापा पक्राउ परेको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत प्रमेश्वर पासवानले बताए । उनका अनुसार चित्तल प्रजातिको मृगको दुईवटा सिङसहितको टाउकाको छाला भारतको जोगवनीतर्फ लिएर जाँदै गरेको अवस्थामा थापालाई पक्राउ गरेर प्रहरीले कारबाहीका लागि वन कार्यालयमा बुझाएको हो ।
थापाले बोकेको झोलाबाट गत आइतबार साँझ बरामद भएको वस्तु परीक्षण गर्दा चित्तल प्रजातिको मृगको सिङ र टाउकाको छाला रहेको पुष्टि भएको पासवानले बताए । वरिष्ठ पशु चिकित्सक सुशीलकुमार अधिकारी र पुरुषोत्तम पाण्डेसहितले उक्त वस्तु वन्यजन्तु चित्तलको अङ्ग भएको पुष्टि गरेका हुन् ।
पासवानका अनुसार थापाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अघि बढाउन अनुसन्धान भइरहेको छ । ऐनले वन्यजन्तुलाई मार्ने, सिकार गर्ने र वन्यजन्तुका अङ्गको व्यापार गर्ने कार्यलाई दण्डनीय मानेको छ । त्यस्तो कार्यमा संलग्नलाई २० हजार रूपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
थापाले भने उक्त वस्तु आफ्नो घरमा वर्षौदेखि रहेको र भारत जोगवनीका योगेन्द्र साहलाई उपहार स्वरूप लगिदिएको बताएका छन् । सहायक वन अधिकृत पासवानका अनुसार वन्यजन्तुको अङ्ग घरमा राख्न र ओसारपसार गर्न हुँदैन भन्ने आफूलाई थाहा नभएको बयान थापाले दिएका छन् । बरामद भएको चित्तलको सिङसहितको छाला धेरै पुरानो रहेको र एउटा पाटो भने रङ्ग लगाएर टल्काइएको उनको भनाइ छ ।