विराटनगरमा सिटी सफारी चोरी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । चोरी गरेको सफारीसहित गिरोहका तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद जुमन, विराटनगर–११ का ३४ वर्षीय मोहमद अन्सारुल र विराटनगर–१२ का २२ वर्षीय पवन रविदास छन् । ब्याट्री चोरी गरेको अटो र चोरी गरिएका अन्य दुईवटा सफारीसहित उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
विराटनगर–६ रामपुरमा को २ ह ३६१० नम्बरको अटो टेम्पोको पाँच थान ब्याट्री चोरी गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि अनुसन्धान गर्दा त्यसअघि नै उनीहरुले विराटनगर १ ह ००९३ र को १ ह ७८१८ नम्बरको सिटी सफारी चोरी गरेको पुष्टि भएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले मोटरसाइकल, सफारी लगायतका सवारीसाधन चोरी हुने क्रम बढेपछि नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिए । ‘सवारीसाधन चोरी गर्नेमाथिको कारबाही तीव्र पारिएको छ,’ उनले भने, ‘चोरी नियन्त्रण गर्न विशेष टोली परिचालन गर्दै सबै ठाउँमा निगरानी बढाइएको छ ।’