०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख १९, २०७९

रुस र युक्रेनले युद्धविरामको समयमा युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिऊपोलको एजोभस्टाल स्टिल उद्योगबाट सर्वसाधारणहरूको उद्धार जारी रहेको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले यस्तो बताएका हुन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पनि मारिऊपोलमा रोकिएका सर्वसाधारणको उद्धार कार्य चलिरहेको बताएको छ।

“युद्धरत पक्ष र राष्ट्रसङ्घको समन्वयनमा सर्वसाधारणहरूलाई सुरक्षित निकास दिने काम जारी छ,“ रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीका प्रवक्ताले भने।

एजोभस्टाल स्टिल उद्योग क्षेत्र मारिऊपोलमा अझैसम्म युक्रेनी सैनिकहरूको नियन्त्रणमा रहेको एक मात्र इलाका हो।

युक्रेनी अधिकारीहरूले करिब १,००० सर्वसाधारण र ५०० बढी घाइते सैनिकहरू उक्त औद्योगिक भवनमा फसेको बताएका छन्।

रुसले ठूलो मात्रामा बमबारी गरिरहेको यो क्षेत्रको व्यापक सहरी इलाकामा करिब एक लाख स्थानीय पानी र सञ्चारको सुविधा विहीन अवस्थामा रहेको आकलन गरिएको छ।

यसअघि रुसले २५ र २१ जना मानिसहरूको समूहलाई उद्धार गरिएको जनाएको थियो। युक्रेनी सैनिकहरूले शनिवार २० जना उक्त क्षेत्रबाट बाहिरिएको बताएका थिए।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि त्यो परिसर छाड्ने उक्त समूह पहिलो हो। रुसले चाहिँ पूर्वतर्फको सैनिक कारबाहीलाई तीव्रता दिन खोजेको छ।

एक हप्ताअघि मारिउपोल कब्जा भएको बताउँदै राष्ट्रपति पुटिनले आफ्ना फौजलाई भनेका थिए, “यो औद्योगिक क्षेत्रलाई यसरी बन्द गर कि त्यहाँबाट एउटा झिँगा पनि बाहिरिन नसकोस्।“

तर रुसी सञ्चारमाध्यमहरूले शनिवार जनाए अनुसार एजोभस्टाल उद्योग क्षेत्रबाट बाहिरिनेमा १४ वर्षभन्दा मुनिका छ जना बालबालिका छन्। उक्त विवरणमा तिनीहरूलाई कहाँ लगियो भनिएको छैन।

स्टील कारखानामा रहेका सैनिकहरूले पनि त्यसलाई पुष्टि गरेका छन् तर उनीहरूले त्यो समूहमा महिला र बालबालिका गरी २० जना रहेको जनाएका छन्।

एजोभ रेजिमेन्टका उपकमान्डर स्भिआटोस्लाभ पालामारका अनुसार उनीहरूलाई ’युक्रेनी नियन्त्रणमा रहेको भूभाग जापोरिजामा उद्धार गरेर पु¥याइने अपेक्षाका साथ उपयुक्त स्थानमा पठाइएको’ बताए।

उनले बिहान ६ बजेबाट नै मानिसहरूले उद्धार कुरिरहेका भए पनि त्यो सहयोग १२ घण्टापछि मात्रै आएको बताए।

ती कमान्डरका अनुसार उनको फौजहरूले भग्नावशेषमा फसिरहेका मानिसहरूलाई डोरीको मद्दतले उद्धार गरिरहेका छन्। उनले यो प्रक्रिया जारी रहने र सबै गैरसैनिकलाई उद्धार गर्न आफूहरू सफल हुने अपेक्षा पनि गरेका छन्।

मारिउपोलका मेयर भडीम बोइचेन्कोले बीबीसीलाई ती मानिसहरू ’जीवन र मृत्युको दोसाँधपूर्ण’ अवस्थामा रहेको बताए। “(मानिसहरूले) कुरिरहेका छन्, उनीहरूले उद्धारका लागि प्रार्थना गरिरहेका छन्,‘ हामीसँग जीवन रक्षा गर्न कति दिन वा घण्टा छ भन्न गाह्रो छ।“

मारिउपोललाई नियन्त्रणमा लिँदा त्यसले युक्रेनको सम्पूर्ण दक्षिण तटीय क्षेत्र कब्जा गर्ने मस्कोको योजनालाई सहयोग पु¥याउँछ। उक्त कदमले पूर्वी युक्रेनमा रहेका रुस समर्थक पृथकतावादी क्षेत्रहरू जस्तै दोनेत्स्क र लुहान्स्कलाई सन् २०१४ मा रुसमा गाभिएको क्राइमियासँग एकताबद्ध गराउन मिल्छ।

त्यसले युक्रेनको मल्डोभासँगको पश्चिमी सीमामा अवस्थित रुस पक्षधर ट्रान्जनिस्ट्रिया क्षेत्रसम्म पनि पहुँच वृद्धि गराउँछ। यसैबीच शनिवार दक्षिण पश्चिम बन्दरगाह सहर ओडेसामा तीनवटा ठूला विस्फोटनका आवाज सुनिएको छ।

एउटा क्षेप्यास्त्र हमलाले ओडेसाको विमानस्थलको धावनमार्गलाई कामै नलाग्ने गरी भत्काइदिएको विवरण आएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यसको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका अधिकारीहरूले प्रत्येक दिन रुसी गोलाबारी वृद्धि भइरहेको बताएका थिए। लुहान्स्क क्षेत्रका प्रमुखले रुसले मे नौ तारिख लक्षित गर्दै शक्तिशाली आक्रमण गर्ने तयारी गरिरहेको जनाएका थिए।

उक्त दिनलाई परम्परागत रूपमा रुसले दोस्रो विश्व युद्धका समयमा जर्मनी विरुद्ध जीत हासिल गरेको दिनका रूपमा मनाउने गर्छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]