बाँके प्रहरीले छिमेकी देश भारतबाट चोरी गरी ल्याएको अवस्थामा ६२ लाख बराबरका सुनका गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. १ को पिमी कैशालका २८ वर्षीय अशोकबहादुर सिंह छन्।
प्रहरीले सिंहलाई जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँ सुबेदी चोकबाट वैशाख १८ गते राति सवा ९ बजेतिर पक्राउ गरेको एसपी अधिकारीले सेतोपाटीलाई बताए।
‘चोरी गरी आएको सिंह आफ्नो दाजुको घरमा जाँदै थिए,’ एसपी अधिकारीले भने, ‘तर, झोला बोकेर पैदल हिँडिरहेका सिंहको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई सोधपुछ र खानतलासीका क्रममा ठूलो मात्रामा सुनका गरगहना फेला पार्न सफल भएको हो।’
सिंहलाई इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।
सिंहले बोकेको झोलामा हार, मंगल सूत्र, बाला, दाना, झुम्की, रामलिला, ब्रासेलेट, कानपासा, औंठी, टप, फूली, पथ्थरका टुक्रा र माला लगाएका सुनका गरगहना बरामद भएको एसपी अधिकारीले जानकारी दिए।
सिंहबाट बरामद भएका गरगहना तौल गर्दा ८०२ ग्राम ७३ मिलिग्राम पुगेको एसपी अधिकारीले बताए। जसको हालको बजार मूल्य अन्दाजी ६२ लाख रुपैयाँ बराबर छ।
एसपी अधिकारीका अनुसार सिंहसहित दुई जना नेपाली र दुई जना भारतीय नागरिक मिलेर वैशाख ४ गते भारतको बैंगलुरूस्थित सुनपसलबाट ती गरगहना चोरी भएको थियो।
‘६० लाख बढी सुनका गरगहना चोरी गरी नेपाल प्रवेश गरेका व्यक्तिहरूमध्ये एक जनाको शंकास्पद गतिविधि देखेर प्रहरीले पक्राउ गरेको हो,’ एसपी अधिकारीले भने, ‘दुई जना नेपाली र दुई जना इण्डियन मिलेर चोरेको खुलेको छ र यी सिंह सुन लुकाउन भनेर आएका रहेछन्।’
नचिनेको व्यक्ति नयाँ ठाउँमा झोला बोकेर आएको देखेपछि प्रहरीले सोधपुछ गर्ने क्रममा शंका लागेर चेक गर्ने क्रममा तथ्य पत्ता लगाउन सफल भएको एसपी अधिकारीले बताए।
इन्टरपोल, इण्डियन एम्बेसी र इण्डियन पुलिसमार्फत् खबर पठाएको एसपी अधिकारीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको दुबै देशका प्रहरीबाट खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।