जिल्लाको लिखु गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका प्रत्याशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एमालेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनी आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका हुन् ।
उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।
यद्यपि उनी पक्राउ भने परिसकेका छैनन् । लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।
उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।