काठमाडाै- इलाममा भएका दुई हत्याका तीनजना आरोपितलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ । देउमाई नगरपालिका र इलाम नगरपालिकामा भएका दुई व्यक्तिको हत्या आरोपितलाई सदरमुकाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
देउमाई नगरपालिका ७ का ४५ वर्षीय सन्तोष बाला राई र इलाम नगरपालिका ८ सिङफ्रिङ्गकी ३१ वर्षीया बिनिता काफ्लेको हत्या आरोपितलाई सार्वजनिक गरेको हो ।राईको हत्यामा सोही पालिकाका २३ वर्षीय भूपेन राई र २० वर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरू सहोदर दाजुभाइ रहेको प्रहरीको भनाइ छ । यस्तै, महिलाको हत्या आरोपमा पक्राउ परेका इलाम नगरपालिका ८ का ४१ वर्षीय देवेन्द्र रिमाललाई पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका तीनै जनाले हत्या गरेको स्विकार गरीसकेको प्रहरीले जनाएको छ । राई दाजुभाइले सन्तोष बाला राईलाई वैशाख १५ गते मादक पदार्थ सेवन गरेर सन्तोषवाला राईसँग वादविवाद हुँदा ढुंगाले किचेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई प्रहरीले वैशाख १६ गते पक्राउ गरेको थियो ।
यता रिमालले अवैध सम्बन्धकै कारण महिलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । रिमालले वैशाख १४ गते राति महिलालाई सिरानीले मुख-नाक छोपेर घाँटी थिचेर हत्या गरी टाउको, हात र पेट काटेर खाल्डो खनेर पुरेको अवस्थामा तीन दिनपछि वैशाख १७ गते पीडकको घर नजिकैको बारीमा शव फेला परेको थियो । मृतक काफ्ले घरमा चार वर्षीया छोरीसँग बस्दै आउनुभएको थियो ।
मृतक महिलाको श्रीमान्को एकबर्षअघि वैदेशिक रोजगारीको क्रममा कतारमा मृत्यु भएको खुल्न आएको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा रिमाल र मृतक महिलाबीच बिगत तीन वर्षदेखि अवैध सम्बन्ध रहेको खुलेको छ ।
महिलाले विवाह गर्न दबाब दिएकै कारण हत्या गरेको पीडक रिमालले प्रहरी समक्ष बयान दिएको हत्याको मुख्य कारण अवैध सम्बन्ध नै रहेको अनुसन्धानमा खुलेको डिएस्पी थापाले जानकारी दिनुभयो । महिलाको हत्या आरोपित रिमाललाई प्रहरीले बुधबार बिहान ४ बजे स्थानीय जंगलबाट पक्राउ गरेको हो ।