स्थानीय तह निर्वाचनलाई प्रभावित पार्ने उदेश्यले दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेको आशङ्कामा १० जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँमा गैर मतदाता प्रवेश गरेको पाइएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीका अनुसार दुई जना युवा मोटरसाइकलमा फरार बनेका छन् । पक्राउ परेका युवाहरु मोटरसाइकलमा गाउँ प्रवेश गरेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका युवाले प्रयोग गरेको छवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट युवाहरु गाउँ छिरेर मतदातालाई प्रभावमा पार्न खोजेको र शङ्कास्पद गतिविधि गरिरहेको पत्ता लागेको दोलखा प्रहरीका डिएसपी गङ्गाप्रसाद पौडेलले जानकारी दिए ।
गैर मतदाता आएर सर्वसाधारणलाई त्रसित बनाउन सक्ने आशङ्कामा दोलखा छिर्ने सबै नाकामा कडाइ गरिएको उनको भनाइ छ । तामाकोसी गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा यसअघिका निर्वाचनमा पनि बाहिरका व्यक्तिहरुले निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरेका थिए ।