काठमाडौं– चितवनको भरतपुरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि भएका खुलेको छ। नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले हत्या गरिएको अवस्थामा फेला परेका अनिल परियार आफ्नो पार्टीका बागमती प्रदेश प्रतिनिधि भएको बताए।
उनलाई आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए।
परियारको हत्याको घटनाप्रति नेपाली कांग्रेस चिवन जिल्ला समितिले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्नलाई तत्काल कानुनी दायरमा ल्याउन माग गरेको छ।
‘निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्वमाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ,’ कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
प्रहरीले भने परियारको हत्या चिनजानकै साथीबाट भएको हुनसक्ने जनाएको छ। ‘चिनजानकै साथीले बोलाएपछि उनी घरबाट निस्केका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी अधिकारीले भने, ‘बोलाउने ती साथीको खोजी भइरहेको छ।’
उनले घटनाको अनुसन्धान भइरहेकाले अहिले नै हत्याको कारण खुल्न नसकेको बताए। हतियार प्रहारपछि गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई आक्रमण गर्ने समूहको पहिचान भइसकेको छैन। परियार गत वर्ष चितवन कारागारमा कैद सजाय भोगेर छुटेका बताइएको छ।