महोत्तरीमा दुई पक्षबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् । बिहीबार बिहान जग्गाको विषयमा दुई पक्षबीच विवाद भई झडप हुँदा पाँच जना घाइते भएका हुन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
औरही नगरपालिका–२ बस्ने चन्देश्वर साह र रामजीवन यादव पक्षबीच झडप हुँदा स्थानीय चन्देश्वर साहकी ६५ वर्षीया पत्नी राजकुमारी देवी साह र उनका ३५ वर्षीय छोरा रामसिकिल साह गम्भीर घाइते भएका छन् ।
दुवैजनालाई उपचारको लागि धरान पठाइएको छ भने अर्को पक्षका ५५ वर्षीय रामजीवन यादव, उनका भाइ ५० वर्षीय रामचन्द्र यादव र २१ वर्षीय विजयकुमार यादव सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।
उनीहरुको औरहीस्थित राधा कृष्ण क्लिनिकमा उपचार भइरहेको उनले बताए । उनीहरूबीच जग्गाको विषयलाई लिएर विवाद हुँदा झडपको स्थिति सिर्जना भएको मिश्रले जानकारी दिए ।