काठमाडौं – स्थानीय तह निर्वाचनको समयमा देशभर ३ सय २८ वटा आपराधिक घटना भएका छन्। सबै घटना निर्वाचन केन्द्रित भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार निर्वाचन बिथोल्न लागि पर्ने समूह र व्यक्तिलाई घटनाको प्रकृति हेरेर मुद्दासमेत चलाइएको छ।
वैशाख ११ देखि ३० सम्ममा सबैभन्दा धेरै राजनीतिक झडप भएको र बाँकी समय उच्छृङ्खल गतिविधि, वादविवाद र तोडफोडका घटना भएको प्रहरीले उल्लेख गरेको छ। प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी ७४ वटा राजनीतिक झडप भएका छन्। व्यक्तिगत र राजनीतिक झडपमा परी २७ जना म्यादी प्रहरी घाइते भएका छन्। ‘निर्वाचनका समयमा झडपका घटना धेरै भए। २७ वटा व्यक्तिगत झडपसमेत हुँदा उम्मेदवार पनि घाइते हुने अवस्था आयो,’ प्रहरी प्रवक्ता केसीले भने, ‘देशभर निर्वाचन विरोधी गतिविधि २५ वटा भएका थिए। शंकास्पद वस्तु फेला पर्ने क्रम पनि यो समयमा बढी भए।’
प्रहरीका अनुसार यो अवधिमा १७ वटा उच्छृङ्खल गतिविधि हुनुको साथै १५ वटा तोडफोड र १२ वटा वादविवादका घटना भएका छन्। विभिन्न घटनामा १० जना उम्मेदवार घाइते भएका थिए भने १० वटा शंकास्पद वस्तु फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ। विभिन्न घटनामा ७ वटा मुद्दा चल्ने अपराध भएको र मुद्दा प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।