सप्तरी – नेपालमै पहिलोपल्ट ‘ए’ डिभिजन क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । विभागीय टोली नेपाल एपीएफ क्लबले एकेडेमी सञ्चालन र त्यसका लागि प्राविधिक सहयोग गर्न मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता गरेको छ ।
सम्झौतापत्र आदानप्रदान गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एपीएफका प्रहरी अधिकृत ।एपीएफ मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको उपस्थितिमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र सशस्त्र प्रहरी खेलकुद विभाग प्रमुख अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता ६ वर्षका लागि गरिएको हो ।युवालाई शिक्षा र व्यावसायिक फुटबलमा स्थापित गर्ने उद्देश्य रहनेमा दुवै पक्ष सहमत भएका छन् । सम्झौताअनुसार एन्फा र एपीएफले स्कुल फुटबल एकेडेमीमार्फत संयुक्त रूपमा एक वर्षको अन्तरमा १४ वर्षमुनिका २१ खेलाडी छनोट गर्नेछ । त्यसमध्ये एन्फाले, र एपीएफले ७–७ खेलाडीको प्रायोजन गर्ने र बाँकी ७ जनाले आफ्नै खर्चमा शिक्षा र फुटबलको प्रशिक्षण हासिल गर्नसक्ने गरी सम्झौता भएको छ । खेलाडी छनोट एन्फाको प्राविधिक समितिको निगरानीमा एपीएफ आफैंले गर्नेछ । त्यसका लागि ७ सदस्यीय समिति बनाइने छ । त्यसमा एन्फाका तीन प्रतिनिधि रहनेछन् । छानिएका खेलाडी १२ कक्षा अध्ययन गर्दासम्म एकेडेमीमै रहनुपर्ने हुन्छ । त्यसपछि खेलाडीलाई स्वतन्त्र गर्ने अधिकार एपीएफसँग निहित हुनेछ ।
सम्झौतापछि एपीएफका महानिरीक्षक खनालले भने, ‘यो सहकार्यले युवा खेलाडीलाई हाम्रो सिनियर टिम हुँदै राष्ट्रिय टिमसम्मको यात्रालाई स्वर्णिम अवसर सिर्जना गर्नेछ । हाम्रा लागि एकेडेमीबाट फाइदा लिने र अनुभव हासिल गर्ने मौका हुनेछ ।’ पछिल्लो समय एसियाली फुटबल महासंघ (एएफसी) बाट क्लब लाइसेन्सिङका लागि युवालक्षित कार्यक्रम गर्नुपर्ने न्यूनतम मापदण्ड भएकाले पनि ‘ए’ डिभिजन क्लबहरू एकेडेमी सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । यीलगायतका मापदण्ड पूरा नभएका कारण एएफसीले लगातार २ वर्षसम्म क्लब लाइसेन्सिङका लागि नेपाली क्लबहरूको आवेदन खारेज गरिदिएको थियो ।एन्फा अध्यक्ष शेर्पाले ‘ए’ डिभिजन क्लबले एकेडेमी सञ्चालन गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड पूरा हुनुका साथै घरेलु फुटबलमा व्यावसायिक फुटबलर उत्पादनलाई पनि यो सम्झौता ऐतिहासिक हुने भनेका छन् । ‘अन्तर्राष्ट्रिय रूपमै शीर्ष डिभिजनका सबै क्लबले एकेडेमी राख्नुपर्छ भन्ने मापदण्ड छ र त्यसलाई पूरा गर्न हामीले यो सुरुआत गरेका हौं ।
व्यावसायिक खेलाडी उत्पादन र राष्ट्रिय टिमको ‘बेन्च स्ट्रेन्थ’ बलियो बनाउने हाम्रो लक्ष्य हो,’ सम्झौताको उद्देश्यबारे शेर्पाले कान्तिपुरसँग भने । एकेडेमी सञ्चालनका लागि वार्षिक १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । फिफा/एएफसीबाट बजेट आएको अवस्थामा क्लबका लागि भौतिक पूर्वाधार निर्माणमा पनि एन्फाले सहयोग गर्नसक्ने अध्यक्ष शेर्पाले जानकारी दिए । एकेडेमीमा खेलाडी भर्ना अभियान वैशाखबाट सुरु गरिनेछ ।