काठमाडौँ — नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजस्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।
विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगन्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि सोमबार जानकारी दिइएको हो ।
विभागले मूल्य अभिवृद्धिकरतर्फ रु दुई करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको रु पाँच करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ । विभागले बिगो र जरिवानासहित रु १५ करोड ९७ लाख पाँच हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।