शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेले प्रहरीसामु कसुर स्वीकार गरेका छैनन् । उनीसँग प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको हो ।
आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा काठमाडौँको एभरेस्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा उनलाई जेठ ७ मा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिले बुधवार पाण्डेसँग बयान लिएका हुन् । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वलिकसँग सो आरोप अस्वीकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।’
पीडित युवतीले टिकटक युजर आईडी ‘सुसिखान जाने हो’बाट जेठ ४ मा करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।
यसैगरी पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि प्रहरीसामु मंगलबार बयान दिएकी छिन् । आफू प्रतियोगिताको कोरियोग्राफर रहेको र कार्यक्रम अवधिभर कसैले पनि दुर्व्यवहारको कुरा नगरेको सुब्बाले प्रहरीलाई बताएकी छिन् ।
मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’मा पीडित युवती सहभागी भएको सुब्बाले बताएकी छिन् । घट्नाबारे पीडितले जानकारी गराएको स्विकार्दै सुब्बाले प्रहरीसँग भनेकी छन्, ‘म आफ्नै तनावमा थिएँ, पछि कुरा गरौँला भनेँ त्यसपछि पीडितले सम्पर्क गरिनन् ।’