सात वर्षअघि विद्यार्थीलाई पटक पटक करणी गरेको आरोप लागेका राज खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सात वर्षअघि १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका तत्कालिन प्रिन्सिपल खड्कालाई प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टिमले खड्कालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । उनलाई आजै सुनसरी ल्याइनेछ ।
खड्काले पटक पटक करणी गरेपनि उजुरी गर्दा कारवाही नभएपछि पीडित विद्यार्थीले केही दिनअघि सामाजिक सञ्जालमा आफूमाथि भएको पीडा सार्वजनिक गरेकी थिइन् । लगतै प्रहरलिे उनको खोजी सुरु गरेको थियो । काठमाडौँको नेपालटारमा रहेको सिद्धार्थ ईंङलीस बोडिङ स्कुलमा कार्यरत खड्कालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल रहेका खड्काले कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेकी विद्यार्थीलाई करणी गरेको आरोप छ । विरामी भएकी किशोरीलाई परिवारसँग अस्पताल लैजाने अनुमति लिएका खड्काले होटलमा लगेर करणी गरेको पीडितको आरोप छ । होटलमा लगेर करणी गरेको घटनापछि आफूमाथि स्कुलमा नै दुई वर्षसम्म करणी भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
उनले स्कुलबाट एसईई दिएपछि २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन । त्यसपछि उनी फरार थिए । प्रहरीले खड्कालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।