जिल्लामा २५ लाख ६८ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ । कोही व्यक्ति पक्राउ भने परेका छैनन् ।
भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणमा रुपियाँ र सुन बरामद गरेको हो ।
जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतबारीमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार घोडाघोडी नगरपालिका–८ मा २३ लाख ४६ हजार भारतीय रुपियाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो । स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपियाँ जमिनमा गाडिएको थियो ।
नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।