यौन दुर्व्यवहार आरोपमा मिस्टर एण्ड मिस कलेज २०२२ का निर्देशक लालबहादुर शंकर पक्राउ परेका छन्।
प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले पक्राउ गरेको हो।
आफूसँग नजिक भए मिस कलेजको उपाधि जिताइदिने प्रलोभन देखाएपछि १७ वर्षीय किशोरीले प्रहरीमा उजुरी दिएपछि शंकर पक्राउ परेका हुन्।
झापाको दमक घर भएकी १७ वर्षीया किशोरीका दाजुको उजुरीपछि शंकरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दीलिप गिरीले बताए।
किशोरीले यसअघि इलाका प्रहरी कार्यालय दमकमा गत वैशाख २८ मा उजुरी हालेकी थिइन्। ती किशोरीको उजुरीपछि प्रहरीले शंकरलाई तीन दिनअघि हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
उनीमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको गिरीले बताए।