काठमाडौं– गहना पसलबाट सुनको सिक्री चोरेको आरोपमा काठमाडौं प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१० भैसे घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–६ शेषमति बस्ने २२ वर्षीय सुरेश नगरकोटीसहित २ जना छन्।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भन्दै आएका २ जनाले तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
गहना पसल सञ्चालकको उजुरीका आधारमा अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनामाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।