सप्तरी – सप्तरीको कन्चनरुप नगरपालिका १२ रुपनगर स्थित त्रिपुरेश्वर ( त्रिमार्ग ) शिवालय मन्दिरमा चोरी भएको हो । चोरीको आरोपमा स्थानीय ३५ बर्षिय राज कुमार बोगटीलाई विहिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार राती कन्चनरुप १२ रुपनगर प्रगतिटोल स्थित रहेको मन्दिरको घण्टी चोरी भएको स्थानीयले बताए । बिहीवार बिहान पूजारी मन्दिरमा पूजा गर्न जाँदा घण्टी नदेखे पछि स्थानीयलाई जानकारी गराएका थिए ।
मन्दिरमा रहेको ३ वटा घण्टी , २ वटा कलश लगायत ५० हजार मुल्य बराबरको सरसमानसहित बोगटीलाई स्थानीयले कन्चनरुप ७ आदर्श टोलबाट पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पक्राउ परेका बोगटीलाई इलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी चोरी बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।