सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिका ४ बलार्दह चौक स्थित पुलको छेउमा रहेको देशकै पुरानो चन्द्र नहरको पुर्व पट्टीको एक ढोका भत्कदा गाउँमा पानी पसेर दर्जनौं घर डुवानमा परेको छ ।
केहीदिन देखि भएको अविरल बर्षाका कारण नहरको सबै ढोका खोल्दा पानीको बहाब थेग्न नसकेर ढोका भत्किएकाे हाे । बलार्दह चौकदेखि पूर्वपट्टिको सरदार टोल पूर्ण रूपमा डुबानग्रस्त भएको छ ।
घरभित्र पानी पसेपछि भित्र भएका नगद र जिन्सी सामानहरु काम नलाग्ने भएका छन् । बाढीले दिपेन्द्र कुमार सरदार, सुखिलाल सरदार, मुखिलाल सरदार, बीरेन्द्र सरदार, राजीन सरदार, बिहारी सरदार, संतोष सरदार, बिष्णुदेव सरदार,भोला प्रसाद सरदार, शम्भु सरदार, बद्री सरदार, लक्ष्मी सरदार, छेदी दास,सुरज दास लगायतका दर्जनौं मानिसहरुको घर डुवानमा परेको छ।
शनिवार बेलुका आएको साे बाढीले आधारभूत आवश्यकताका अन्न, लत्ताकपडा, रुपैयाँ पैसा, बिछ्यौनाजस्ता सामग्रीहरू बगाइदिँदा स्थानीयहरु बिचल्लीमा परेका छन् । यसैगरी स्थानीय जागेश्वर दासको पोखरी भत्काई माछा बगाइदिएको छ भने पश्चिमी बाँध भत्काइएको छ। सरदार बस्ती पूर्वका झण्डै पच्चीस बीघा जमिनको धानबाली बाढीले नष्ट गरेको छ।
त्यस्तै यस अघि पनि मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका सयौं बिगहा खेती योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहेको थियो ।