काठमाडौँ – सरकारले विपद्मा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो । बैठकले तीन दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको छ । सरकारले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौं । तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरू खोल्ने निर्णय समेत गरेका छौँ ।’
साथै तत्काल अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने समेत निर्णय भएको छ । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरूको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए । मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ ।