राजबिराज सप्तरी -सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित बसपार्क, जसको शिलान्यास २० वर्षअघि गरिएको थियो, अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। लामो समयदेखि उद्घाटन र शिलान्यासका चर्चाहरूमा सीमित रहेको यो बसपार्क सञ्चालनमा आएर नगरपालिका मा हाल छाडा पार्किङ क्षेत्रका रूपमा परिणत भएको छ, जसले नगरको सौन्दर्यलाई समेत प्रभावित बनाएको छ।
यस समस्याप्रति प्रमुख जिल्ला अधिकारी भोला दाहालले गम्भीर ध्यानाकर्षण भएका छन्। आजै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा राजविराज नगरपालिकाका काभा मेयर इसरत प्रविण, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइराला, र सहरी सदन कार्यालयका प्रमुख लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
छलफलपछि प्रजिअ दाहालले बसपार्क निर्माणस्थलको निरीक्षण गर्न एक टोलीसहित अनुगमन गरे। निरीक्षणका क्रममा निर्माण कार्यमा ठेकेदार कम्पनीको ढिलासुस्ती तथा बजेट व्यवस्थापनमा समस्या देखिएको खुलासा भयो। साथै, स्थानीयहरूले बसपार्कको सट्टापट्टा गरिएको जग्गाको लालपुर्जा उपलब्ध नगराएको गुनासो व्यक्त गरे।
प्रजिअ दाहालले तत्कालै सट्टापट्टा तथा अतिक्रमणका विषयमा अध्ययन गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, नापी प्रमुख, र सहरी सदन कार्यालयका प्राविधिकहरूको संयुक्त टोली गठन गर्ने निर्णय गरेका छन्। उक्त टोलीले छिट्टै प्रतिवेदन तयार गरी प्रजिअ दाहाललाई बुझाउनेछ।
ठेकेदार कम्पनीलाई शीघ्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै, प्रजिअ दाहालले नगरपालिकासँग आवश्यक सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। उनले केही दिनभित्रै बसपार्क सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
सप्तरी जिल्लाको विकासमा सबै सरोकारवालाहरू एकजुट भई प्रयास गर्ने हो भने यस्ता अधुरा योजनाहरू चाँडै पूरा हुने जनाइएको छ।
प्रजिअ दाहालको सक्रियताले सप्तरीवासीको विकासप्रतिको आशा पुनः जीवित गराएको छ।