सप्तरी – ‘तँ यो कला क्षेत्रमा लागेर पछुताउँछस् छोरा, यसमा नलाग, चार्टड एकाउन्टेन्ट(सीए) पढ्नुपर्छ वा कुनै अर्को काम गर्नुपर्छ’ बुबाले यसो भनिरहँदा उनको जवाफ थियो, ‘चिन्ता नगर्नूस् बुबा, म पछुताउँदिनँ, म तपाईंको इज्जत राख्नेछु।’
‘जब बुबाको नाम रातो किताबमा लेखियो, मैले राष्ट्रिय प्रतिभा पुरस्कार पाएँ, अरु थुप्रै ठाउँमा सम्मानित भएको तस्वीरहरू बुबालाई देखाएँ, त्यसबेला बुबा आँखाभरी आँसु भरेर भक्कानिनुभएको थियो।’जनकपुरका मिथिला आर्टिस्ट अजित साहले आफ्ना संघर्षका कथा यसरी सुनाए। तराई मधेस जसलाई मिथिला भन्ने गरिन्छ।
मिथिलाका गाउँ घरका भित्तामा फरक फरक चित्र कोरिएको हुन्थ्यो । “ती चित्र देख्दा मेरो मनमा ‘के हो, कस्तो चित्र हो’ भनेर धेरै प्रश्न उब्जिन्थ्यो”, उनले देखापढीसँग भने, “पर्व र त्योहारहरूमा आँगनमा चामलको पिठोले आमाले ‘अरिपणा’ बनाउनु हुन्थ्यो, त्यही चित्र हेरेर म पनि भुइँमै बनाउँथे ।” तर, आमाको देखासिकी गरेर छोराले चित्र बनाउँदा आमालाई मन परेन । उनको आमाले भन्नुहुन्थ्यो, ‘छोरीहरूले गर्ने काम छोराले गर्नु हुँदैन, मैले आमाबाट सिकेँ, म मेरी छोरीलाई सिकाउँछु, छोरीले आफ्नी छोरीलाई सिकाउँछे, यो छोरीहरूले गर्ने काम मात्र हो ।’
यहाँ पनि अजितको आर्टिस्ट बन्ने तीब्र चाहनाको सामुने आमाको केही लागेन । “मलाई जे कुरामा रूचि छ, म त्यही गर्छु भन्थेँ, आमाभन्दा पनि राम्रो चित्र कोर्थें, आमाले हेर्दा दँग पर्नुहुन्थ्यो”, उनले भने, “आमाले गाली गरे पनि खुसी लाग्थ्यो, म आफैंले रोजेको बाटोमा हिँडिरहेँ, बाधा व्यवधानलाई चिर्दै अघि बढिरहेँ ।” व्यापार व्यवसाय गर्ने पुर्ख्यौली पेशालाई छाडेर उनले आजभन्दा करिब ३५ वर्षअघि जनकपुरबाटै ‘मिथिला पेन्टिङ कोर्ने’ काम सुरू गरेका थिए । मिथिला चित्रकलालाई अँगालेर विश्वभर चिनाउने र नाम कमाउने अठोट लिएर मिथिलाका चित्र कोर्न थालेको उनी बताउँछन्।
घरेलु तथा साना उद्योगको आयोजनमा काठमाडौंमा हुने पेन्टिङ प्रदर्शनीमा भाग लिन उनी जनकपुरबाट आउँथे । अमेरिकन राजदूतावासद्वारा आयोजित ‘क्रिसमस वेलफेयर’ लगायतका कार्यक्रमहरूमा ‘मिथिला पेन्टिङ’ लाई प्रदर्शन गर्थे ।“विदेशीहरूले मिथिलाका पेन्टिङ औधी मन पराउँथे, धेरैजसो पेन्टिङ किनेरै लान्थे तर, भृकुटीमण्डपमा हुने प्रदर्शनीमा मिथिला पेन्टिङलाई होच्याइन्थ्यो, कार्टुन, मधिसे कला, मधेसको कला भन्थ्यो”, उनी भन्छन्, “नराम्रो भन्दा खल्लो त लाग्थ्यो तर अजितको कला भनेर चिनाउन पाउँदा खुसी थिएँ ।”
साहले अहिलेसम्म १५ देशहरूमा मिथिला पेन्टिङको प्रदर्शन गरिसकेका छन् । जापानमा चारपटक, अमेरिकाका विभिन्न सहर, इटाली, जर्मनी, ताइवान, हङकङ, बांगलादेश लगायतका देशमा पेन्टिङलाई प्रदर्शनमा ल्याइसकेका छन् । “मिथिला पेन्टिङ नेपाली बजारमा ४० प्रतिशत खपत हुन्छ भने विदेशमा ६० प्रतिशत खपत हुन्छ”, उनले थपे । ‘प्रोडक्ट डिजाइन’ बारे तालिमले कस्तो चित्र बनाउँदा बिक्छ ? भन्ने सीपले उनी झनै हौसिए । जापानको एउटा होटेल र संग्राहलयका लागि झण्डै चार वर्ष काम गरे । यसले मिथिला पेन्टिङको व्यवसाय पनि फस्टाउँदै गयो । उनी भन्छन्, “बजारमा बिक्ने किसिमका पेन्टिङ बनाउनुपर्छ, त्यसको लागि नकारात्मक कुरा ग्रहण गर्दै अघि बढ्ने हो, नकारात्मक कुरालाई स्वीकार्दा सकारात्मक आफैं आउँछ ।” अहिले प्रदेश-२ स्थित जनकपुरमै उनले ‘जनकपुर आर्ट एण्ड क्राफ्ट’ संस्थामा ३४ जना महिलालाई रोजगारी समेत दिएका छन् ।
उनको उमेर ढल्किदैछ तर चित्र कोर्न बस्दा भने राति २ बजेको थाहा पाउँदैनन् । “चित्रको कुनै सीमा हुँदैन, चित्रको बनावट हेरेर समय लाग्छ” उनले भने, “कुनै चित्र कोर्न तीन दिन लाग्छ भने कुनै ४० दिन पनि लाग्न सक्छ ।”
चित्रको निश्चित बजार नभएको बताउँदै उनले भने, “तीन महीनासम्म काम नहुन पनि सक्छ, वर्षौंसम्म काम निरन्तर आइरहेको हुनसक्छ ।” मिथिला चित्रकलामा तीन दशक बढी अनुभव बटुलेका अजितले मिथिला पेन्टिङमा युवाहरूको आकर्षण बढिरहेको बताउँछन् । “थुप्रै बालबालिका र युवाहरू प्रेरित भएर सिकाउन आग्रह गरिरहेका छन्, अहिले पनि सिकाइरहेको छु”, उनले थप्दै भने, “कुनै पनि कलालाई पुस्तानान्तरण गर्दै जानुपर्छ, यसले संस्कृतिलाई जोगाइराख्न मद्दत गर्छ ।”
शंखमुलस्थित रहेको घरलाई उनले संग्रहालय जस्तै बनाएका छन् । घर प्रवेश गर्ने वित्तिकै भित्ताहरूमा मिथिलाका विभिन्न पेन्टिङलाई झुण्ड्याएका छन् । घर नै किन संग्रहालय त ? “बोलेर परिचय दिनुभन्दा मैले कोरेका चित्रले मेरो परिचय दियोस्, मेरो कामले बोलोस्”, उनी भन्छन्, “एउटा कलाकारलाई नामभन्दा ठूलो के चाहिन्छ र ?”