सप्तरी – नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारको घोाषणा गरेको छ। मंगलबार सम्पन्न प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठकले उक्त निर्णय गरेको हो।
बैठकले प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई नगद दुई लाखको नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार र नगद दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ। बैठकले दुई दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार भारत, आसामका लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाल प्रज्ञालंकार सम्मान चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गर्ने निर्णय गरेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी गराए।