सप्तरी – उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ ।बिहीबार उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलन गर्ने घोषणा गरेको हो ।
मोर्चाले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको बताए । उनले भने, ‘वर्तमान सरकारले टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने थियो तर, यसलाई अपराधीकरण गरिएको छ ।’मोर्चाले अदालतको फैसलाप्रति खेद प्रकट गरेको छ । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व सांसद कृष्णकुमार चौधरी (कुन्दन)ले टीकापुरमै भएको भदौ ८ गतेको घटनालाई पनि राज्यले अपराध ठहर गर्नुपर्ने बताए । उनले भने, ‘भदौ ७ गतेको घटनालाई अदालतले अपराध मानेको छ भने भदौ ८ गते कर्फ्यु लागेको समयमा थारुहरुका घर खोजीखोजी आगलागी गरिएका छन् । त्यो घटनाका दोषीहरुलाई किन अहिलेसम्म कारबाही भएन ?’
उनले राज्यमा दोहोरो कानुन लागू भइरहेको आरोप लगाए । उनले अदालतको फैसलाले न्यायको आवाजलाई दबाउने प्रयास गरेको टिप्पणीसमेत गरे । ‘हामीले थारुहरुको अधिकारका लागिमात्र नभई आदिवासी, जनजाति, राना थारु, दलित, मुस्लिम लगायत उत्पीडनमा परेका व्यक्तिहरुको अधिकारका लागि आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अन्यायमा परेका व्यक्तिहरुले न्यायको आवाज उठाउँदा राज्यले दबाउने प्रयास गरिरहेको छ ।’