सप्तरी – पर्साको मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महिनामा भारततर्फ ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको मालसामान निर्यात भएको छ।
चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबभन्दा बढी भारततर्फ निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताए। कोरोना महामारीका कारण वीरगञ्ज नाकाबाट भारततर्फ हुने निकासी काम समेत प्रभावित भएको अधिकृत सुकमनीले बताए।
चालू आर्थिक वर्षको पहिलो ५ महिनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको छ।वीरगञ्ज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ वटा उद्योगले तेल निकासी गर्दै आएको छ। गत आव २०७६/७७ को साउनदेखि मंसिर सम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय ७९ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ। पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको अधिकृत सुकमनीले बताए।
गत वैशाखको अन्त्यतिर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो। पाम आयल निकासी हुन नसकेपछि स्वदेशी उद्योगीले भटमासको कच्चा तेल ल्याएर प्रशोधनपछि भारत निकासी गर्न थालेका छन्। अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेसिया लगायतका देशबाट भटमासको अर्ध प्रशोधित तेल आयात हुने गरेको छ। यस्तो तेल नेपालबाट शून्य भन्सार सुविधामा भारत निकासी हुँदै आएको छ। त्यसैगरी, वीरगञ्ज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैंचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य वस्तु छन्।
त्यसैगरी आयुर्वेदिक औषधि, स्टिलका भाँडाकुँडा, कागजका बाकस, सिआर सिटलगायत वस्तु समेत ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगञ्ज भन्सारले जनाएको छ।