दक्षिण अफ्रिका र फ्रान्सपछि जापानमा पनि नयाँ स्वरुपको कोरोनाभाइरसबाट संक्रमितहरु भेटिएका छन्। त्यहाँ पाँच जना यस्ता संक्रमित भेटिएका हुन्।नयाँ स्वरुपको कोरोनाभाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको थियो। यो भाइरस अब संसारका अरु देशमा पनि फैलन थालेको छ। द गार्जियनका अनुसार जापानमा नयाँ प्रकारको कोरोनाबाट संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको छ।
उनीहरु पछिल्लो हप्ता बेलायतबाट स्वदेश फर्किएका थिए। जापानको स्वास्थ्य विभागले उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिरहेको जनाइएको छ। त्यसपछि मात्र अन्यमा फैलिएको वा नफैलिएको पत्ता लाग्नेछ।सर्वप्रथम बेलायतमा फेला परेको कोरोनाको नयाँ स्वरुप त्यसपछि दक्षिण अफ्रिका र फ्रान्समा भेटिएको थियो। तर, दक्षिण अफ्रिकामा भेटिएको नयाँ स्वरुपको कोरोनाभाइरस बेलायतको भन्दा फरक रहेको बताइएको छ। उता फ्रान्समा भेटिएका संक्रमितलाई भने कुनै लक्षण थिएन।अहिले युरोपियन लगायत विश्वका धेरै देशले बेलायतसँगको हवाई सम्पर्क विच्छेद गरेका छन्। त्यहाँ यात्रा प्रतिबन्ध लगाइएको छ। यो नयाँ स्वरुपको भाइरस पहिलेको भन्दा ७० प्रतिशत बढी फैलन सक्ने बताइएको छ। तर, यो पहिलेको भन्दा बढी घातक भए÷नभएको पत्ता लागि नसकेको बताइएको छ।
अहिलेसम्म विश्वमा आठ करोडभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन्। तीमध्ये १७ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकामा मात्र तीन लाख ३८ हजारभन्दा बढीको मृत्यु भएको छ।