सप्तरी – कुनै समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको धेरै अभाव थियो त्यसैले बैंकहरु आफैं निक्षेपकर्ताको कार्यालयसम्मै धाउँथे ।हामीलाई निक्षेप दिनुपर्यो भन्दै संस्थागत निक्षेपकर्ताको कार्यालयसम्मै पुग्ने तिनै बैंकमा अहिले निक्षेपबारे खासै चासो देखिँदैन ।
भएको पैसा नै लगानी गर्न नपाएका कारण बैंकले निक्षेपका लागि हात थाप्नु परेको छैन । बरु बैंकमा तरलता पर्याप्त हुँदा निक्षेपकर्ताहरु चाहिँ समस्यामा परेका छन्, पारिएका छन् ।‘निक्षेपकर्ताहरुलाई प्रोत्साहन नै गर्नु राम्रो हुन्छ तर अहिले अवस्था अलि फरक छ,’ नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले भने, ‘तरलताको विद्यमान अवस्थाका कारण बचतकर्ता निरुत्साहित हुने हो कि भन्ने चिन्ता छ ।’राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरुमा १ खर्ब १६ अर्ब रुपैयाँ तरलता छ । राष्ट्र बैंकले बैंकहरुमा अधिक तरलता भएपछि २ खर्ब हाराहारीमा तरलता प्रशोचन गरेको छ । यसमध्ये ९० अर्ब रुपैयाँ अहिले पनि राष्ट्र बैंकमा बसेको छ । परिपक्व भएसँगै यो पैसा पुनः बजारमा जान्छ, अनि तरलता २ खर्बभन्दा धेरै हुन्छ ।राष्ट्र बैंकले बैंकहरुबाट उठाएको ५० अर्ब रुपैयाँ त १५ पुसमा परिपक्व हुँदैछ, यो अब बजारमा गइहाल्छ । ‘कोरोनापछि बैंकहरुमा कर्जाको माग बढ्न सकेन, कर्जा लगानी कम गर्दा तरलता थुप्रिएको छ,’ डा. भट्ट भन्छन्, ‘पछिल्लो समय कर्जाको माग बढेको छ तर जति हुनु पर्ने त्यो अझै हुनसकेको छैन ।’बैंकमा तरलता पर्याप्त हुँदा धेरै फाइदाहरु छन् । तरलता पर्याप्त हुँदा कर्जाको ब्याजदर घट्छ । उद्योग–व्यवसाय गर्न चाहनेले सहज ऋण पाउँछन् । अझ भनौं वित्तीय साधन उपलब्ध हुने र यसले व्यवसायिक वातावरण सहज बनाउने हुन्छ, जसका कारण व्यवसायको लागत घट्छ ।
फाइदासँगै केही बेफाइदाहरु पनि छन् । पछिल्लो समय कर्जाको माग कम हुने र बैंकमा पैसा थुप्रिदाको असर निक्षेपमा देखिएको छ । निक्षेपकर्ताहरु बैंकको उपेक्षामा परेका छन् । यसले बचत निरुत्साहित हुन्छ कि भन्ने चिन्ता राष्ट्र बैंकमा छ ।